मनोरञ्जन

कोरोनापछि  खेलकुद क्षेत्र चलायमान बन्दै, कुन कुन खेल कहिले ? 

काठमाडौं। गत वैशाखमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल) का कारण फुटबलप्रेमीमा एक प्रकारको रौनक थियो । केही युरोपेली खेलाडीका साथ नेपाली खेलाडीहरू फरक खेल प्रदर्शन गरिरहेका थिए । तत्कालै सरकारले लकडाउन घोषणा गर्यो । एनएसएलको पहिलो चरण नसकिँदै प्रतियोगिता रोकिने खतरा बढ्यो । चौधरी ग्रुुपको नेतृत्वमा खेलकुदमा धेरै लगानी भित्रिएको थियो ।
सरकारले अत्यावश्यकबाहेकका सम्पूर्ण गतिविधि बन्द गर्दा पहिलो संस्करणको एनएसएल रोकिने अवस्थामा पुग्यो । खेलकुदमा ठूला कर्पोरेट हाउसहरू जुन तरिकाले भित्रिएका थिए, त्यसरी आउने अवस्था रहँदैन थियो ।

तर, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले एनएसएल नरोक्न दबाब दिए । देशभर अत्यावश्यकबाहेकका गतिविधि नहुँदा बिनाअवरोध दशरथ रंगशालामा भने सदाझै खेल सञ्चालन भए । खेल सञ्चालन गर्न दिए पनि सरकारले दर्शकलाई भने रंगशाला प्रवेशमा रोक लगायो । ४ जेठसम्म दैनिक करिब दुई सय हाराहारीमा रंगशालामा खेलाडी, अफिसियल, टिम मालिक, टेक्निकल टिम, पत्रकार, ब्रोडकाष्टरको समूहसहित लिग सम्पन्न भयो ।

एनएसएल सकिएसँगै नेपालमा घरेलु प्रतियोगिता हुन सकेनन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भने दोस्रो चरणको लकडाउनमा समेत आफ्नो गतिशीलता अघि बढायो । एनएसएलको केही समयमै उसले राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षण सुरु गर्यो ।

केहीपछि नेपाल क्रिकेट संघ (क्यान) ले पनि पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु गर्यो । नेपाल भलिबल संघले समेत एभिसी सेन्टर जोन प्रतियोगिताका लागि खेलाडीलाई काठमाडौं ल्याएर बन्द प्रशिक्षण गर्यो । यद्यपि कोरोना रेड जोनमा रहेका कारण आयोजकले नेपाली टोलीको नाम नै फिर्ता लियो । कोरोनाकालमै टोकियो ओलम्पिकमा सहभागी हुने खेलाडीले अभ्यास गरे । अभ्याससँगै प्रतियोगितामा केही रेकर्ड कायम गरी घर फर्किसकेका छन् ।

नेपाल सरकारले समेत भदौ पहिलो साताबाट लकडाउनलाई विस्तारै खुल्ला गर्दै आयो । देशभर सम्पूर्ण गतिविधि जारी छन् । तर सरकारले धेरै मान्छे जम्मा हुने भन्दै खेलकुद क्षेत्रलाई भने नियममै बाँधिरह्यो । अझै खुल्ला गरिसकेको छैन । सरकारले अन्तर्राष्ट्रिय खेलकुदमा सहभागी हुने संघहरूलाई कोरोना मापदण्ड पूरा गरी प्रशिक्षण गर्न स्विकृत दिएको छ । कुनै प्रतियोगिता आयोजना गर्न भने सरकारले सहजै स्वीकृत दिएको छैन ।

एन्फाले पछिल्लो दुई सातामा पुरुषतर्फ नेपाल–भारत तथा महिलातर्फ नेपाल–बंगलादेशबीच दुई मैत्रीपूर्ण फुटबल खेल आयोजना गर्यो । प्रतियोगिता आयोजनाका लागि सहजै स्वीकृत दिएको सरकारले दर्शकसहितको खेलमा भने कडाई गर्दै आइरहेको छ ।
भारत र बंगलादेशविरुद्धको खेलमा सरकारले कुल क्षमताको ३३ प्रतिशत मात्रै दर्शकलाई मैदान पस्न स्वीकृत दिएको थियो । त्यो पनि रंगशाला प्रवेश गर्ने दर्शकले पीसीआर नेगेटिभको रिपोर्ट वा कोरोना खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने नियम थियो । सरकारले बन्द रंगशालामा घरेलु प्रतियोगिता गर्नसमेत स्वीकृत प्रदान गरेको छ ।
नेपालमा सबैभन्दा चलायमान तथा लोकप्रिय खेल भनेकै फुटबल, क्रिकेट, भलिबललगायत हुन् । एन्फाले कोरोनाबीचमै बन्द रंगशालामा सी डिभिजन लिग छनोट प्रतियोगिता आयोजना गरिरहेको छ । बन्द रंगशालामा जारी प्रतियोगितामा देशभरबाट ६८ टोली सहभागी छन् ।

यसपछि एन्फाले २९ कात्तिकबाट देशकै प्रतिष्ठित तथा शीर्ष डिभिजनको ए डिभिजन लिग आयोजना गर्दैछ । त्यसअघि एन्फाले २ असोजबाट मोफसलमा १० टोली सहभागी हुने फुटसल लिग आयोजना गर्दैछ ।

क्यानले स्वीकृत दिएको एभरेष्ट प्रिमियर लिग (ईपीएल) असोजमै आयोजना हुँदैछ । नेपाल भलिबल संघले एनभिए लिगको आयोजना असोज चौथो साता गर्ने तयारी गरेको छ । जसका लागि संघले आज (बुधबार) पत्रकार सम्मेलन गर्दैछ । यी सबै खेल बन्द रंगशालामा हुँदैछन् । यस्तै भलिबल संघले आगामी महिना पहिलो फ्रेन्चाइज लिगको लागि चौधरी ग्रुपको नेपाल स्पोर्टस् एन्ड म्यानेजमेन्ट कम्पनीसँग १० वर्षे सम्झौता गरिसकेको छ ।

यता, कोरोना कहरकै बीच क्रिकेट टोली आईसिसी लिग–२ खेल्न ओमानमा छ भने पुरुष फुटबल टोली साफ च्याम्पियनसिपका लागि कतारमा १६ दिनको बन्द प्रशिक्षणमा छ । एएफसी महिला एसिया कप २०२२ छनोट खेल्न महिला फुटबल टोली उज्वेकिस्तान पुगेको छ ।-रमेश सुवेदी/न्युज कारखाना