Home » Sample Page » ममताका मन्त्री पार्थ चटर्जीकी निकट सहयोगी अर्पिता मुखर्जीको घरमा ईडीको छापाः २० करोड नगद प्राप्त, शिक्षक भर्ती घोटालासँग सम्बन्धित 
अन्तराष्ट्रिय

ममताका मन्त्री पार्थ चटर्जीकी निकट सहयोगी अर्पिता मुखर्जीको घरमा ईडीको छापाः २० करोड नगद प्राप्त, शिक्षक भर्ती घोटालासँग सम्बन्धित 

कोलकाता । पश्चिम बंगालका उद्योग मन्त्री पार्थ चटर्जीकी निकट सहयोगी अर्पिता मुखर्जीको घरमा प्रवर्तन निर्देशनालय (ईडी)ले शुक्रबार छापा मारेको छ । यस कारबाहीमा मुखर्जीको घरबाट २० करोड रुपैयाँ नगद बरामद भएको भारतीय सञ्चार माध्यमले समाचार छापेको छ । यो रकम विद्यालय सेवा आयोग (एसएससी) घोटालामा कमाएको अनुसन्धान एजेन्सीले आशंका गरेको छ ।

ईडीको टोलीले पार्थ चटर्जी, शिक्षा राज्यमन्त्री परेश सी अधिकारी, विधायक माणिक भट्टाचार्यलगायतका १३ ठाउँमा छापा मारेको थियो । तर, उनीहरुसँग नगद भेटिएको छैन । ईडीले हाल पश्चिम बंगाल स्कूल सेवा आयोग र पश्चिम बंगाल प्राथमिक शिक्षा बोर्डमा भर्ती घोटालाको अनुसन्धान गरिरहेको छ ।

एसएससी भर्ती घोटालाको सम्बन्धमा ईडी अधिकारीहरूले शुक्रबार बिहान ८ बजेदेखि पार्थ चटर्जीसँग सोधपुछ गरिरहेका छन् । एसएससी मार्फत शिक्षक नियुक्तिका लागि करोडौंको कारोबार भएको बताइएको छ । यो घोटाला हुँदा पार्थ चटर्जी शिक्षामन्त्री थिए ।

चटर्जी विरुद्ध कलकत्ता उच्च अदालतमा एक याचिका पनि दायर गरिएको छ, जसमा उनका नजिकका १० जना सहयोगीलाई अवैध रूपमा रोजगारी दिएको आरोप लगाइएको छ । याचिकामा भनिएको छ कि यी व्यक्तिहरू चटर्जीका सुरक्षा गार्डका आफन्त हुन् । अदालतले यस विषयमा अर्को हप्ता सुनुवाइ गर्ने सम्भावना छ ।

चटर्जीकी निकट सहयोगी अर्पिताको घरबाट पनि २० भन्दा बढी मोबाइल बरामद भएको छ । यद्यपि अर्पिताले यति धेरै फोन किन प्रयोग गरिरहेकी थिइन् भन्ने अहिलेसम्म खुल्न सकेको छैन । ईडी अधिकारीहरूले ५०० र २००० को नोट गणना गर्न मेसिनको मद्दत लिनुपरेके थियो ।