मनोरञ्जन

भारतले वेस्ट इन्डिजलाई २ विकेटले पराजित गर्दै सिरिज २–० ले जित्यो

पोट अफ स्पेन । भारतले दोस्रो एकदिवसीय खेलमा वेस्ट इन्डिजलाई २ विकेटले पराजित गरेको छ । योसँगै भारतले तीन खेलको शृङ्खलामा २–० को अग्रता लिएको छ । एकदिवसीय क्रिकेटमा वेस्ट इन्डिजमाथि भारतको यो लगातार १२ औँ शृङ्खला जित हो । योसँगै टीम इन्डियाले लगातार सबैभन्दा बढी सिरिजमा कुनै एक टोलीलाई हराउने विश्व कीर्तिमान बनाएको छ । यसअघिको कीर्तिमान पाकिस्तानको नाममा थियो । पाकिस्तानले जिम्बावेलाई लगातार ११ एकदिवसीय सिरिजमा पराजित गरेको छ ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको क्यारेबियन टोलीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३११ रन बनाएको थियो । आफ्नो करियरको १०० औं एकदिवसीय खेल खेल्दै आएका शाई होपले ११५ रनको इनिङ खेले । कप्तान निकोलस पूरनले ७४ रन बनाए । भारतका लागि शार्दुल ठाकुरले सर्वाधिक तीन विकेट लिएको जवाफमा टीम इन्डियाले ४९.४ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
भारतका लागि अक्षर पटेलले ६४ रन बनाए । सोही क्रममा श्रेयस अय्यरको ब्याटबाट ६३ रन बने । सञ्जु सामसनले आफ्नो एकदिवसीय करियरको पहिलो अर्धशतक बनाएका थिए । उनले ५४ रनको पारी खेले ।