मनोरञ्जन

श्रीलंकाले पाकिस्तानलाई २४६ रनले पराजित गर्दै सिरिज १–१ को बराबरी

ग्ल । श्रीलंका र पाकिस्तानबीच गालेमा भएको दोस्रो टेस्टमा श्रीलंकाको टोलीले ठूलो जित हात पारेको छ । उसले पाकिस्तानलाई २४६ रनको ठूलो अन्तरले हराएको थियो । रनको आधारमा पाकिस्तानविरुद्धको टेस्टमा श्रीलंकाको सबैभन्दा ठूलो जित हो । योसँगै दुई टोलीबीचको टेष्ट सिरिज १–१ को बराबरीमा पुगेको छ ।

खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाले ३ सय ७८ रन बनाएको थियो । जवाफमा पाकिस्तानको टोली २३१ रनमा अलआउट भयो । श्रीलंकाका लागि यो इनिङ्समा रमेश मेन्डिसले सर्वाधिक विकेट लिएका थिए । उनले ५ पाकिस्तानी ब्याट्सम्यानलाई प्याभिलियन पठाए । योसँगै प्रभात जयसूर्याको खातामा ३ विकेट परे । दोस्रो इनिङ्समा श्रीलंकाले ३६० रन बनाएर इनिङ्स घोषणा गरेको थियो । पाकिस्तानलाई ५०८ रनको लक्ष्य थियो ।

जवाफमा पाकिस्तानले २६१ रन मात्र बनाउन सक्यो । कप्तान बाबर आजम एक्लै संघर्ष गरिरहेको देखिए । उनले ८१ रनको पारी खेले । दोस्रो इनिङ्समा पनि प्रभात जयसूर्या र रमेश मेन्डिसले खतरनाक बलिङ गरे । जयसूर्याले ५ र रमेशले ४ विकेट लिए ।

यो जितसँगै श्रीलंका आईसीसी टेष्ट च्याम्पियनसिपको तेस्रो स्थानमा उक्लिएको छ । भारत चौथो र पाकिस्तान पाँचौं नम्बरमा छ । योसँगै दक्षिण अफ्रिका नम्बर १ मा छ भने अष्ट्रेलियाको टोली नम्बर २ मा रहेको छ । श्रीलंकाको टोलीले घरेलु मैदानमा लगातार दोस्रो सिरिज बराबरी गरेको छ । यसअघि अस्ट्रेलियाविरुद्धको टेष्ट सिरिजमा श्रीलंकाले उत्कृष्ट प्रदर्शन गर्दै सिरिज १–१ को बराबरीमा ल्याएको थियो । यस सिरिजमा प्रभात जयसूर्याले पनि उत्कृष्ट बलिङ गरेका थिए । उनले अहिलेसम्म ३ टेस्ट खेलेका छन् र २९ विकेट लिएका छन् । पहिलो तीन टेस्टमा उनीभन्दा नरेन्द्र हिरवानीले मात्र बढी विकेट लिएका थिए। उनले ३१ विकेट लिए ।