विविध

२ सय भन्दा बढी प्रहरी परिचालन गरेर फोहोरका गाडीहरु बञ्चरे लगियो, महानगर कसैलाई हराउने खेलमा छैन — प्रमुख साह

काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) ले महानगर कसैलाई हराउने खेलमा नलागेको बताएका छन् । फोहोरमैला संकलन, ढुवानी र अन्तिम व्यवस्थापनका क्रममा महानगरले झेलेका दुःखको प्रसङ्ग उल्लेख गर्दै उनले यस्तो बताएको हो ।

‘फोहोर लैजाने कुरा आज पनि सहज भएन । सत्तारुढ दलहरुकै स्थानीय नेताहरुको अगुवाइमा सडक अवरुद्ध गरियो । जसलाई विपक्षी दलहरु एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि साथ दिएको देखियो ।’ आज स्यानिटरी ल्याण्डफिल साइडमा फोहोर ढुवानी र अन्तिम व्यवस्थापनका विषयमा जानकारी दिँदै प्रमुख साह भन्छन्, ‘२ सय भन्दा बढी प्रहरी परिचालन गरेर फोहोरका गाडीहरु बञ्चरे लगियो । केही समूहबाट लुक्दै गुलेली हानेर अवरोध सिर्जना गर्ने प्रयास भयो । यसैकारण आज २०३ वटा मात्र फोहोरका गाडीहरु बञ्चरे डाँडा लैजान सकियो ।’
अहिलेसम्म भोगेका र देखिएका समस्या सतही मात्र भएको उल्लेख गर्दै प्रमुख साहले गहिरा कारण अरुपनि भएको उल्लेख गरेका छन् । ‘राज्यले ५ अर्बभन्दा बढी लगानी गरिसकेको, झन्डै २ दशकदेखि योजना बनाएको ठाउँमा फोहोर लैजान यतिका माथापच्ची किन गर्नु पर्छ? सुरक्षाकर्मीलाई स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? पुरै राज्य संरचना यस्तो निरीह किन बन्छ ?’ प्रमुृख साहको प्रश्न छ ।
‘यहाँ केही कमजोरी, केही गल्ती भएकै छ । सिसडोलमा गरिएको लापरवाही र त्यो क्षेत्रको दुरवस्थाले गर्दा स्थानीयहरुले जोसुकैलाई विश्वास गर्न नसक्नु अस्वभाविक पनि होइन । तर हामी विश्वस्त पार्न चाहन्छौँ कि विगत दोहो¥याएर अपराध गर्ने छैनौँ ।’ प्रमुख साह आफ्नो प्रतिवद्धता व्यक्त गर्दै भन्छन्, ‘यसका लागि केही समय भने पक्कै लाग्छ । सिसडोलको वैज्ञानिक व्यवस्थापन र बञ्चरेको दिगो उपयोगिताका लागि महानगर संवेदनशील छ । हामी आफुले गरेका सहमतिहरुको पालना गर्नेछौँ । सबै पक्षबाट हामी त्यही किसिमको संवेनशीलता र इमान्दारिताको अपेक्षा राख्दछौँ ।’