अन्तराष्ट्रिय

सोमालियामा आतंककारीले हयात होटलमा प्रवेश गरी गोली चलाए, ८ जनाको मृत्यु

मोगादिसु । सोमालियाको राजधानी मोगादिसुमा शुक्रबार राति आतङ्ककारी हमला भएको छ । आतंककारीले हयात होटलमा प्रवेश गरी गोली चलाउँदा ८ जनाको मृत्यु भएको थियो भने ९ जना घाइते भएका थिए । यसअघि हयात होटल बाहिर पार्किङ गरेका दुईवटा कारमा विस्फोट भएको बताइएको छ । यसपछि आतंककारीहरू होटलभित्र पसे र मानिसहरूमाझ गोली चलाउन थाले ।

समाचार एजेन्सी एएफपीका अनुसार होटलमा सुरक्षा बल र आतंककारीहरूबीच भिडन्त भइरहेको छ । आक्रमणमा मोगादिसुका गुप्तचर प्रमुख मुहिद्दीन मोहम्मद घाइते भएका छन् । अहिलेसम्म ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । इस्लामिक आतंकवादी समूह अल–शबाबले आक्रमणको जिम्मेवारी लिएको छ ।

यस्तै आक्रमण २६ नोभेम्बर २००८ मा भारतको मुम्बईमा भएको थियो । आतंककारीहरूले ताज होटलमा प्रवेश गरी गोलीबारी र विस्फोट गरेका थिए । यस हमलामा ९ आक्रमणकारी सहित करिब १८० जनाको मृत्यु भएको थियो । यहाँ १० आतङ्ककारी १० एके–४७, १० वटा पेस्तोल, ८० वटा ग्रेनेड, २ हजार गोली, २४ म्यागजिन, १० वटा मोबाइल फोन, विस्फोटक पदार्थ र टाइमर बोकेर झोलामा प्रवेश गरेका थिए ।