मुख्य समाचार

भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यृ, भारतका केही राज्यमा समेत असर

बाजुरा । बाजुराको मैलाआसपास केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युटको भूकम्प गएको छ । अपराह्न २ः४३ मिनेटमा ५.९ म्याग्निच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको धक्का सुदूरपश्चिमका पहाडी जिल्लाका साथै तराईमा कैलाली, कञ्चनपुरसम्म महसुस गरिएको छ । भूकम्पका कारण बाजुरामा सात घरमा क्षति भएको स्थानीयले बताएका छन् । दिउँसो गएको भूकम्पमा गौमुल गाउँपालिका–२ की जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार घाँस काटिरहेको वेला भूकम्प गएपछि माथिबाट खसेको ढुंगा लागेर रोकायाको मृत्यु भएको हो ।

त्यस्तै भूकम्पको असर भारतको राजस्थानको पूर्वी भाग पनि हल्लाएको छ । जसका कारण भारतका धेरै राज्यमा भूकम्पको धक्का महसुस गरिएको थियो । राजस्थान बाहेक हिमाचल प्रदेश, उत्तराखण्ड, उत्तर प्रदेश, दिल्ली, हरियाणामा समेत धर्ती हल्लिएको थियो । राजस्थानमा भूकम्पले दिल्ली–एनसीआरको छेउछाउका अलवर, भिवाडी, जयपुर र दौसालाई असर गरेको भारतीय सञ्चारले समाचारमा उल्लेख गरेको छ ।