स्वास्थ्य

काठमाडौँलाई जीवन्त र मानव बसोबास योग्य सहर बनाउन बायु प्रदुषण घटाउनु पर्ने आवश्यक — प्रवक्ता मानन्धर

काठमाडौं । ‘काठमाडौँलाई जीवन्त र मानव बसोबास योग्य सहर बनाउन बायु प्रदुषण घटाउनु पर्ने आवश्यकता देखिएको छ । यसका लागि क्षेत्रगत रुपमा र विषय विज्ञहरुले अध्ययन गरिरहेका छन् । यसरी भएका अध्ययनबाट प्राप्त भएका सुझावलाई हामी नीतिमा समेटेर प्रदुषण नियन्त्रणका कार्यक्रम बनाउँछौँ । कार्यक्रम तर्जुमा गर्छौँ । कार्यान्वयन गर्छौँ । त्यसपछि हाम्रो काठमाडौँ स्वच्छ हावा भएको बस्न लायक सहर हुनेछ ।’ काठमाडौँ महानगरपालिकाका प्रवक्ता नविन मानन्धर भन्छन्, ‘प्रदुषण बढाउने हरेक व्यक्तिको भूमिका छ । म पनि प्रदुषणका लागि दोषी छु भनेर कसैले जिम्मेवारी लिँदैनन् । सबै अरुलाई देखाउने मात्र छन् ।’ आज महानगरको सभा कक्षमा शिक्षा सरोकारवाला (व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक र विद्यार्थी) हरुसँग वातावरण व्यवस्थापन विभागले आयोजना गरेको स्वच्छ हावा विषयक अन्तरक्रियामा प्रवक्ता मानन्धरले यस्तो बताएको हो । सबैले जिम्मेवारी लिए मात्र प्रदुषण कम गराउन सकिनेमा प्रवक्ता मानन्धरको जोड छ ।

विद्यालयका क्रियाकलापहरुमा फोहोर व्यवस्थापनजस्ता पक्ष सञ्चालन गर्न छुट्टै संयन्त्र चाहिन्छ । प्रधानाध्यापक र शिक्षकहरुको मुख्य अध्ययन अभ्यापन गराउने हो । शिक्षा सल्लाहकार रेशु अर्यालले भने, विद्यालयभित्र भएका पात पतिङ्गर पक्कै पनि बालिएका होलान् । यस्ता बस्तुको व्यवस्थापन बालेर गर्नुभन्दा वातावरणीय विधि हुन सक्छन् । यतातिर विद्यालय प्रशासनको ध्यान आवश्यक छ ।
प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले, वायु प्रदुषण घटाउन प्रचारात्मक र प्रवर्धनात्मक कार्यक्रममा जोड दिए । प्रदुषण घटाउन राम्रा कामको प्रवर्धन र गतल प्रवृत्तिलाई निरुत्साहित गर्ने प्रणाली विकास गर्नुपर्छ । अन्तरक्रियामा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले, वायु प्रदुषण नियन्त्रण जस्ता अभियानका रुपमा चलाउनु पर्ने कार्यक्रम शिक्षा क्षेत्रमा चलाउँदा नतिजा राम्रो हुने बताए । त्यस्तै वातावरण समितिका संयोजक बालकृष्ण महर्जनले, सबै खालका प्रयास गरेर भए पनि काठमाडौँलाई बस्न लायक सहर बनाउने जिम्मेवारीलाई साझा संकल्पका रुपमा अगाडि बढाउनुपर्ने बताए ।

काठमाडौँको वायु प्रदुषण विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा १० गुणा धेरै छ । अन्तरक्रियामा अध्ययनले देखाएको अवस्था उल्लेख गर्दैै युएसएड स्वच्छ हावा परियोजनाका प्रमुख भुषण तुलाधरले मृत्युका पहिला ५ कारणमध्ये वायु प्रदुषण एउटा कारण रहेको बताए । दुषित हावाले फोक्सोलाई मात्र समस्या गर्दैन । यसमा भएका हानीकारक रसायनले क्यान्सरको जोखिम पनि देखिएको छ । तुलाधरको भनाइ छ ।

शिक्षा सरोकारवाला विच समान बुझाइ विकास गरेर सहभागिता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सहभागी बालबालिकाले, भनेको कुरा नगरिने गरेको अनुभव सुनाए । ‘फोहोर छुट्याऔँ सबैले भन्छन्, नढाँटी भन्नु त हजुरहरु कसकसका घरमा छुट्टै बाल्टिन छ ।’ उनीहरुले प्रश्न गरे । बोट विरुवामा हाल्ने औषधि पनि वायु प्रदुषणको कारण हो । बुझाइ स्पष्ट पार्दै उनीहरुले भने, ‘नत्र भए किन नगारको त?’

अन्तरक्रियाको अन्त्यमा समूहगत छलफल गरेर शिक्षा क्षेत्र सुधारसँग प्रदुषण नियन्त्रण सम्बन्धी निचोड निकालिएको छ । विद्यालय आफैँले पनि प्रदुषण नियन्त्रणका काम गर्नुपर्छ । विद्यालय सुधार योजनामा वातावरण सुधारको विषय समेटिनु पर्छ । विद्यालयलाई प्लाष्टिकमुक्त, फोहोरमुक्त, लागू औषध दुव्र्यसन खतरामुक्त बनाउन विद्यालयहरुका लागि आचार संहिता जारी गर्नुपर्छ । यससँगै छलफलले, विद्यालयमा वायु प्रदुषणका विषयमा सम्पर्क गर्ने फोकल शिक्षकको प्रबन्ध गर्नु पर्ने, पाठ््यक्रममा भएका सैद्धान्तिक विषयहरुलाई व्यवहारिक सीपमा रुपान्तरण गर्नु पर्ने निचोड निकालिएको छ ।

महानगरले विद्यालयहरुमा ह्याप्पी फ्राइडे कार्यक्रम सञ्चालन योजना बनाएको छ । यस दिन विद्यार्थीहरुलाई सीपमुलक र व्यवहारिक क्रियाकलाप गराइनेछ । यस प्रकारका तालिम र सिकाइलाई दिगो बनाउनु पर्छ । तालिम धेरैले लिएका छन् । सीप धेरैले जानेका छन् । तर के सिकेको सीप र जानेको ज्ञानले व्यवहार परिवर्तनमा सहयोग गरेको छ त? महानगरका सहायक निर्देशक सानुमैयाँ महर्जन भन्छन्, ‘महानगरले अव टिक्ने र बिक्ने सीपको प्रवर्धन गर्ने योजना बनाएको छ ।’ अन्तरक्रिया वातावरण व्यवस्थापन विभाग र जनस्वास्थ्य संस्था (एन्फो) को आयोजनामा सम्पन्न भएको हो । महानगरले यस अघि जनप्रतिनिधि, सफाईका कर्मचारी, नगर प्रहरी, सवारी चालकलाई वायु प्रदुषण कारण र नियन्त्रणका विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको छ ।

यी निकायले विकासका काम गर्दा धुँवाधुलो नियन्त्रणका विधि नअपनाए कारण नागरिकलाई सास्ती भएको, जनजीवन कष्टकर भएको, व्यापार व्यवसाय सञ्चालन गर्न कठिन निर्माण सामाग्री र सवारीबाट उत्पादन भएको प्रदुषक तत्वमा पाइने नाइट्रोजन अक्साइड, कार्वन मोनोक्साइड, सल्फर डाइअक्साइड, नाइट्रेट सल्फर, एमोनियाँ, धातुको टुक्रा, कार्वन तथा प्लाष्टिकका टुक्रा समेत पाइएका छन् । यिनीहरु एक ठाउँबाट अर्को ठाउँमा सजिलै पुग्ने तर कचौरा आकारको उपत्यकाबाट बाहिर जान नसक्ने भएकाले जनस्वास्थ्य र मानव स्वास्थ्यमा प्रतिकुल असर पारेको छ ।

वायु प्रदुषण पिएम २.५ मा मापन हुन्छ । यो भनेको धुलाका अत्यन्त मसिना कण भन्ने हो । जुन मानव कपालको व्यास भन्दा पनि साना एकाइका हुन्छन् । यस्ता कणले मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्छन् । विभिन्न समयमा गरिएका अध्ययनले काठमाडौँमा वायु प्रदुषणको मात्रा मापदण्डभन्दा धेरै छ ।