काठमाडौँ । साढे ६ महिनाकी नवजात बालिका यौनजन्य हिंसामा परेको सामाजिक यथार्थ घटनालाई प्रतिनिधि अपराध मानेर यस्ता समस्या न्युनीकरणका विषयमा आज छलफल भएको छ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको एकद्वार संकट व्यवस्थापन केन्द्र ( काठमाडौँ महानगरपालिका भित्रका ५ वटा ओसीएमसी) र अस्पतालका अधिकारीसँगको संयुक्त बैठकमा मामिला (घटनाका प्रकृति) का बारेमा तथ्याङ्क उधृत गर्दै समस्याका कारण र समाधानका उपायका बारेमा छलफल भएको हो । बैठकका आयोजना सामाजिक विकास विभागले गरेको थियो ।
बालिका पीडित छन् । धेरै चाहिँ किशोरी पीडित छन् । त्यसपछि प्रौढ र ६० बर्षका महिलाहरु पनि यौनजन्य हिंसाबाट पीडित भएको घटना अभिलेखन भएको छ । पुृरुषहरु पनि हिंसामा परेका छन् । महिलाको दाँजोमा उनीहरुको संख्या कम छ । नदेखिएका घटना र लुकाउन खोजिएका, दवाइएका यस्ता कति घटना होलान्? तिनले व्यक्ति, परिवार र समाजको उत्पादनशीलता, आर्थिक तथा सामाजिक पक्षमा कति असर पारेको होला, यस विषयमा सुक्ष्म अध्ययन र व्यक्ति व्यक्तिसम्म पुग्ने कार्यक्रम चलाउनु पर्छ । बैठक यही विषयमा केन्द्रीत थियो ।
बैठकमा उपप्रमुख डंगोलले भनिन, ‘यौनजन्य हिंसा भयो भने प्रहरीकोमाभन्दा संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा जानुपर्छ । यहाँ पुगेपछि उपचार, कानुनी र प्रशासनिक सहयोग एकै ठाउँमा पाइन्छ । यसका लागि शुल्क तिर्नु पर्दैन । व्यक्तिको गोपनीयतालाई ध्यान दिइन्छ । उसको उपचार, कानुनी तथा प्रशासनिक विधि र प्रक्रियाका बारेमा सूचना दिइन्छ । मनोसामाजिक परामर्श गराइन्छ । भन्ने सूचना सबैलाई हुनुपर्छ ।’ उनले थप्दै भनिन, ‘हाम्रो चाहना घटना नहोस् भन्ने हो, त्यसका लागि सचेतनाका कार्यक्रमलाई व्यापक बनाउनुपर्छ । काठमाडौँ महानगरपालिकाका वडा महिला सञ्जाल र ओसीएमसीलाई अन्तरसम्बन्धित बनाएर एकीकृत कार्यक्रम थालनी गरौँ ।’
‘हिंसामा परेका व्यक्तिहरुमध्ये थोरै मात्र सिधै ओसीएमसीमा आउँछन् । धेरैजसो पहिले प्रहरीकोमा पुग्छन् । त्यसपछि प्रहरीले ओसीएमसीमा पठाउँछन् । हुनु पर्ने चाहिँ यसप्रकारका घटनाबाट प्रभावित भएका व्यक्तिहरु पहिले अस्पतालमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्रमा जानुपर्छ ।’ बैठकमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले भने, ‘संघ सरकारले जारी गरेको निर्देशिकाले यस्ता घटना व्यवस्थापनमा स्थानीय सरकारलाई भूमिका दिएको छैन । तर यो स्थानीय सरकारको दायित्वभित्रको काम हो । त्यसैले हामी अभिभावकीय र समन्वयात्मक भूमिकाबाट काम गर्छौँ । निगरानी बढाउँछौँ ।’
बैठकमा सामाजिक विकास समितिका संयोजक रामकुमार के. सी. ले, भने, ‘अघिल्लो बर्ष विद्यालय स्तरमा कार्यक्रम चलाएका थियौँ । यस्ता कार्यक्रम टोल टोलमा लिएर जानु पर्ने रहेछ भन्ने महसुस भएको छ ।’
बैठकमा वीर अस्पतालका निर्देशक सन्तोष पौडेल र कान्ति बाल अस्पतालका निर्देशक डा. युवानिधि बसौलाको एउटै धारणा थियो । अस्पतालहरुका आफ्नै सीमा छन् । यसकारण केन्द्रलाई चाहेर पनि प्राथमिकतामा राख्न कठिन छ । यस कार्यमा महानगरको नेतृत्व भयो भने निश्चय नै उपयुक्त र दिगो व्यवस्थापन नतिजा प्राप्त हुन्छ ।
बैठकमा सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोखरेलले, केन्द्रहरुलाई समन्वय गर्न काठमाडौँ महानगरपालिकाले निर्देशक समिति र कार्य सञ्चालन समिति गठन गर्ने प्रस्ताव पेश गरेका थिए । कार्य क्षेत्रगत सर्त सहित पेश गरिएको प्रस्तावमा अस्पताल र केन्द्रहरुबाट पृष्ठपोषण प्राप्त भएपछि अन्तिम रुप दिने तयारी गरिएको छ । प्रस्तावमा उपप्रमुखको संयोजकत्वमा ९ सदस्य रहने निर्देशक समिति र सामाजिक विकास विभागका प्रमुखको संयोजकत्वमा ९ सदस्यीय कार्य सञ्चालन समिति गठन गर्ने कुरा उल्लेख छ ।
कान्ति बाल अस्पतालको तथ्याङ्क हेर्दा काखे बालिका पनि यसप्रकारको हिंसामा छन् । धेरैजसो विद्यालयका छात्राहरु शिक्षक र आफूभन्दा माथिल्ला कक्षाका विद्यार्थीबाट, परिवार, नाताभित्र, आफन्त र चिनेजानेकाबाट पीडित भएका छन् । संख्या हेर्दा परोपकार स्त्री तथा प्रसुति रोग अस्पतालमा धेरै छन् । गएको बर्ष कान्ति बाल अस्पतालबाट ६५ जनाले सेवा पाए भने प्रसुति रोग अस्पतालबाट ४०३ जनाले सेवा लिए । यस्तै प्रकारको सेवा वीर अस्पताल, ट्रमा सेन्टर र सरुवा रोग अस्पतालबाट पनि दिइयो ।
महानगरपालिकाभित्र कान्ति बाल अस्पताल, परोपकार स्त्री तथा प्रसुति रोग अस्पताल, ट्रमा सेन्टर, वीर अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा यस्ता केन्द्रहरु छन् । बैठकमा केन्द्रका सम्पर्क अधिकारीहरु क्रमशः पुष्पा घिमिरे, सुकु लामा, सुमन चौधरी, मीना शेर्पा र सदीक्षा पराजुलीले केन्द्र सञ्चालनको अवस्था, सम्भावना, चुनौती र महानगरपालिकासँगको अपेक्षाका विषयमा प्रस्तुतिकरण गरेका थिए ।
के हो, ओसीएमसी?
हिंसाजन्य घटनामा परेर उपचार, प्रशासनिक कारवाही प्रक्रिया, कानुनी सहायताजस्ता सहयोग, अस्पतालको एकै ठाउँ उपलब्ध गराउने सेवा नै ओसीएमसी हो । अस्पताल आधारित लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्रको स्थापना र सञ्चालन निर्देशिका २०७७ बमोजिम काठमाडौँका ५ वटा अस्पतालमा यस्ता केन्द्र छन् । केन्द्रहरुमा मानसिक, शारीरिक, यौनजन्य हिंसा, बलात्कारलगायत आर्थिक सामाजिक कारणबाट सिर्जित समस्याबाट पीडित भएका तथा घटनाबाट प्रभावित भएका महिला, बालबालिका र पुरुषहरु आउने गरेका छन् । उनीहरुका लागि स्वास्थ्य तथा चिकित्सा सेवा, मनोसामाजिक परामर्श, सुरक्षित घर तथा आवास सेवा, कानुनी सहयोग र जीविकोपार्जन सेवा प्रदान गर्ने गरिन्छ ।
ओसीएमसीका समस्या
विज्ञानमा आधारित प्रमाणका लागि प्रयोगशाला र जनशक्तिको अभाव छ । स्वास्थ्य र कानुनी उपचारपछि पुनस्र्थापनाका लागि सुरक्षित बासस्थान व्यवस्थापन गर्नुपर्छ । पहिलेको हिंसा दोहोरिँदैन भन्ने सुनिश्चित नहुञ्जेल पारिवारिक पुनस्र्थापना गराउन हुँदैन । आमा हिंसामा पर्दा नानीबाबु पनि प्रभावित हुन्छन् । यस्ता बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने असरबाट बचाउन आवास तथा उसको विकासका लागि उपयुक्त वातावरण आवश्यक पर्छ । यसका लागि पर्याप्त स्रोत उपलब्ध छैन ।
घटनाबाट मानसिक समस्यामा परेका व्यक्तिहरुको रेखदेख सजिलो छैन । वेवारिसे र मानसिक सन्तुलन ठिक नभएका व्यक्तिको उपचार, कानुनी प्रक्रिया सबै जटिल छन् ।
सबैभन्दा ठूलो कुरा त, यौनजन्य हिंसा अपराध हो भनेर व्यक्ति व्यक्तिलाई बुझाउनु पर्छ । स्वस्थ्य, नैतिकवान र जिम्मेवार नागरिक उत्पादन गर्न शिक्षा र सचेतनाका कार्यक्रम चलाउनु पर्छ ।
Add Comment