विविध

काठमाडौँ महानगरपालिकाकाद्वारा नघल भेडासिंह सडक खण्डको निर्माण प्रक्रियाको अनुगमन

काठमाडौँ । सडकमा पूर्वाधार निर्माण तथा सुधारको काम गर्दा अन्य संरचनामा पुग्न सक्ने क्षति र यसैकारण सेवा अवरुद्ध हुन सक्ने अवस्थाप्रति निर्माण पक्षले सचेतना चाहिएको काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बताएका छन् । बुधबार साँझ वडा नं. २५ नघलदेखि भेडासिंहसम्मको सडक खण्डमा ढल निकासका लागि भइरहेको निर्माण प्रक्रियाको अनुगमनका क्रममा उनले यस्तो बताएको हो । योजना कार्यान्वयन हुँदा आउने गुनासोहरुलाई उदाहरण दिँदै उनले भने, ढल निकासको काम गर्दा खानेपानीको पाइप वा यस्तै अन्य कुनै सुविधाका पाइप, तारको सञ्जाल क्षति पुग्ने गरेको छ । यहाँ पनि यस्तै समस्या देखियो ।

अनुगमनका लागि उनि भेडासिंह चोकमा पुग्दा भूमिगत ढलको काम भइरहेको थियो । चोकमा केही स्थानीयबासी भेला भएर खानेपानीको कुन पाइपबाट पानी आउँछ, खोज्दै थिए । यसको खोजी गर्न निर्माण पक्षले सघाइरहेको थियो । एकै ठाउँबाट सबै सुविधा संरचना बनाउँदा एउटा बनाउँदा अर्को विग्रिन्छ । यसले भइरहेको सुविधा पनि कट्छ । स्थानीयले गुनासो गरे ।

अनुगमनका क्रममा परियारले, जनशक्ति बढाएर काम छिटो सम्पन्न गर्न, जनशक्तिलाई हेल्मेट, पञ्जाजस्ता पेशागत सुरक्षाका साधन तथा उपकरण प्रदान गर्न र ढलबाट खानेपानीको पाइप छुट्टै राख्नसमेत निर्देशन दिए । यो सडक खण्ड पाँचह्रे र सेतो मच्छिन्द्रनाथको सथ यात्रा हुने भएकोले, अहिलेका सडकलाई सम्याइएको छ । यो निर्माण कार्यका बारेमा जानकारी दिँदै वडा २५ का अध्यक्ष राजेश डंगोलले भने, जात्रा सकिएपछि निर्माणको गुणस्तरका लागि सबै प्रक्रिया पूरा गरेर काम सम्पन्न गरिनेछ ।

नघल भेडासिंह सडकको ३३९ मिटर खण्डमा वडाले २४ इञ्च डाइमिटरको ढल राख्ने योजना कार्यान्वयन गरेको हो । इञ्जिनियर रजला बज्राचार्यकाअनुसार १ करोड ९ लाख रुपैयाँ लागत अनुमान रहेको योजनाको खरिद प्रक्रियाबाट ८६ लाख रुपैयाँमा कबोल गर्ने केपी कन्ट्रक्सन उद्योग छनोट भएकोले यही उद्योगले काम गरिरहेको छ । काम गर्न चैत ४ गते सम्झौता गरिएको थियो । चैत ५ गते कार्यादेश दिइयो । सम्झौतामा निर्माण पक्षले २ महिना १५ दिनभित्र कार्य सम्पन्न गरिसक्नु पर्ने सर्त छ ।