विविध

मंसिर ८ र ९ गते काठमाडौँमा ‘वुमन्स अफ द वल्र्ड फेस्टिभल’ आयोजना हुने

काठमाडौँ, साउन ३२ । ‘वुमन्स अफ द वल्र्ड फेस्टिभल’को सातौँ संस्करण काठमाडौँमा आयोजना हुने भएको छ । काठमाडौँ महानगरपालिका र व्रिटिस काउन्सिलले संयुक्त रुपमा फेस्टिभलको आयोजना गर्नेछन् । विहीबार काउन्सिलमा आयोजना गरिएको एक कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल र काउन्सिल कन्ट्री डाइरेक्टर सहिदा म्याकडुगलले फेस्टिभलको संकेत चिन्ह सार्वजनिक गरेकि छन् । सन् २०११ मा लण्डनको साउथ वैङ्कमा पहिलो सम्मेलन गरिएको थियो । लैङ्गिक समानता र समावशीकरणका लागि सकारात्मक परिवर्तन गराउन महिलाहरुको आवाजलाई सशक्त बनाउनु फेस्टिभलको मुख्यलक्ष्यहो ।

फेस्टिभल आउँदो मंसिर ८ र ९ गते (नोभेम्बर २३ र २४ तारिख) आयोजना हुनेछ । २ दिने फेस्टिभलमा ३ वटा भन्दा धेरै प्रकृतिका प्रदर्शनी हुनेछन् । २५ वटाभन्दा धेरै स्टल हुनेछन् । ४० भन्दा धेरै संवाद र मन्तव्य हुनेछन् । १० वटाभन्दा धेरै चलचित्र प्रदर्शन गरिनेछ । ५ वटा भन्दा धेरै कार्यशाला गरिनेछ । १० वटा भन्दा धेरै सांगीतिक प्रस्तुति हुनेछन् । कम्तीमा ५ सय विद्यार्थी सहभागी गराउने लक्ष्य राखिएको कार्यक्रममा १ सयजना भन्दा धेरै कलाकार सहित १० हजार भन्दा धेरै व्यक्तिको सहभागिता हुने अपेक्षा गरिएको छ ।

त्यस क्रममा बोल्दै उपप्रमुख डंगोलले, नेपाली महिलाहरुको सहनशीलतासँग सम्बन्धित नभनिएका, नसोधिएका र नसमेटिएका कथाहरु प्रदर्शनलाई जोड दिइने बताईन । गएको जेठ महिनामा वेलायतमा आयोजना भएको सम्मेलनमा भागलिएको अनुभव सुनाउँदै उनले भनिन, ‘महिलाको अर्थपूर्ण सहभागिताकालागि नेतृत्वमा रहेका महिलाहरुबाट प्रेरणा प्राप्तभएको छ । यसका आयाम धेरै छन् । तीमध्ये राजनीतिक सक्रियताले पनि सशक्तिकरण प्रदान गर्छ ।’

कार्यक्रममा बोल्दै नेपालकालागि वेलायतका राजदूत रोब फेनले फेस्टिभलबाट महिलाहरुलाई नेतृत्वदायी स्थानसम्मको यात्रा तय गर्ने हौसला प्राप्त हुने अपेक्षा गरिन । यस्तै कन्ट्री डाइरेक्टर साहिदाले, महानगरपालिकासँगको सहकार्यमा आयोजना गरिने संस्करणले नयाँ आयाम सिर्जना गर्ने धारणा राखिन ।

गएको जेठ महिनामा उपप्रमुख डंगोलको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले, वेलायतको मेनचेष्टरमा आयोजना भएको ‘वुमनअफ द वल्र्ड फेस्टिभल’मा सहभागिता जनाएको थियो । उपप्रमुख डंगोल भन्छिन, ‘अन्तरराष्ट्रिय कार्यक्रममा महिलाको नेतृत्वमा महिलाहरु मात्र सहभागी भएको प्रतिनिधि मण्डल काठमाडौँ महानगरपालिकाको इतिहासमा पहिलो हो ।’

सम्मेलनमा महिलाहरुका पारिवारिक, सामाजिक, राजनीतिक, आर्थिक लगायत विविध भोगाइका विषयमा अनुभव आदानप्रदान हुने गरेको छ । सम्मेलनमा संगीत, कला, साहित्य, राजनीति, अभियन्ता, लेखक सहित विभिन्न क्षेत्रका वक्ताहरुलाई बोलाइन्छ ।