अर्थ-स्वास्थ्य

फुड सेफ्टी, वुट क्याम्प स्वच्छ मासुको उपलब्धताका लागि मासु निरीक्षण, वधस्थलको स्वरुप र सरसफाइमा इमान्दार हुन आग्रह

काठमाडौँ, असोज ७ । काठमाडौँ महानगरपालिकाले मासुजन्य खाद्य बस्तुको स्वच्छताका लागि माछा, मासु व्यवसायीहरुलाई १ दिने क्षमता विकास तालिम प्रदान गरेको छ । शनिवार मासु व्यावसायी (थोक र खुद्रा विक्रेता), पशु वधशालाका कर्मचारी र मासु तथा मासुजन्य पदार्थको प्रशोधन गर्ने व्यावसायीलाई क्षमता विकासका लागि प्रशिक्षण गरिएको हो ।

‘स्वच्छ भान्छा’ स्वर्णिम योजना, खाद्य स्वच्छता प्रवर्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छता : प्रवर्धन शिविर (फुड सेफ्टी, वुट क्याम्प) कार्यक्रमअन्तर्गत महानगरपालिकाले यस वर्ष खाद्य सेवामा आवद्ध जनशक्तिलाई ज्ञान, सिप तथा क्षमता विकास कार्यक्रम सञ्चालन गरिरहेको छ । यस क्रममा गएको भाद्र महिनामा साना तथा मध्यम भोजनालय सञ्चालक, व्यवस्थापन र भान्छामा काम गर्ने कर्मचारीलाई प्रशिक्षण प्रदान गरिएको थियो । क्षेत्रगत व्यवसायी तथा व्यक्तिहरुलाई सेवाको प्रकृतिका आधारमा वर्गीकरण गरेर समूहगत तालिम दिने क्रमको दोस्रो संस्करणमा माछा तथा मासु व्यवसायीलाई सहभागी तालिम दिइएको हो ।

स्वच्छ खाना : उत्कृष्ट व्यापार (सेफर फुड  : वेटर विजनेस) सोच राखेर थालिएको तालिममा खाद्य सेवामा अत्याधिक उपयोग हुने खानेकुरासँग सम्बन्धित क्षेत्रलाई छान्ने गरिएको छ । अहिले दशैँलगायत पर्व नजिकिन थालेको र यी पर्वमा मासुजन्य खाद्यबस्तुको अत्याधिक प्रयोग हुने भएकोले मासु व्यवसायीलाई तालिम दिइएको हो ।

महानगरपालिकामा दर्ता भएर सञ्चालन हुने ६९९ व्यवसायी छन् । उनिहरुमध्ये तालिममा ३२१ जना व्यवसायी सहभागी भएका थिए । जसमध्ये ३० जना (९.३४%) माछा व्यवसायी, ९२ जना (२८.६६%) कुखुराको मासु व्यवसायी, ६६ जना (२०.५६%) राँगाको मासु व्यवसायी, ४४ जना (१३.७१%) खसीको मासु व्यवसायी, ३२ जना (९.९६%) बुंगुरको मासु व्यवसायी, ४४ जना (१३.७१%) खसी र कुखुरा दुवैको विक्री गर्ने व्यवसायी, ७ जना (२.१८%) कुखुरा, खसी र राँगाको मासु विक्री गर्ने व्यवसायी सहभागी भएका थिए । यसैगरी २ वटा प्रशोधित मासु उद्योगबाट ६ जना (१.८७%) जनाले भाग लिएका थिए ।

उनिहरुलाई मासुको स्वच्छता र सरसफाइ, मासु जाँच तथा पशु बधशाला ऐन २०५५ र नियमावली २०५७, पशु कल्याण निर्देशिका २०७३, मासुजन्य पदार्थ उत्पादन तथा वितरण सम्बन्धी निर्देशिका २०७५ मा भएका व्यवस्था, व्यवसायीको आचरण र पेशागत धर्मलगायत विषयमा कार्यपत्र प्रस्तुति र छलफल सञ्चालन गरिएको थियो ।

यस्तै जुनोटिक (पशुबाट मानिसमा सर्ने रोग), मासुजन्य खाद्यबस्तुका कारण सिर्जना हुन सक्ने जनस्वास्थ्यजन्य समस्या र यसको न्यूनीकरणका लागि व्यवसायीहरुको दायित्वका विषयमा अन्तरक्रियात्मक छलफल गरिएको थियो । खाद्य स्वच्छता र सरसफाइ, स्थान र संरचनाको न्युनतम सुविधा मापदण्ड, क्रस कन्टामिनेसनको रोकथाम, खाद्य भण्डारण (काँचो, पाकेको), उचित प्रयोग नहुँदा खाद्य पदार्थबाट हुने जोखिम, हाइजिन रेटिङ्, सरसफाइ स्तरीकरण र प्रमाणीकरण, प्रचलित कानुनी व्यवस्था (मापदण्ड, व्यवस्था पालना नगर्दा हुने क्षति, दण्ड तथा जरिवाना) क्षमता विकास कक्षाका विषय हुन् । यी कक्षाहरुमा सरसफाइ र स्वच्छतासँगै शत्रु जीवबाट खाना र खाना बनाउने ठाउँको सुरक्षा, कार्यमैत्री वातावरण, फुड फ्लो (प्राप्त गर्ने, भण्डारण गर्ने, पकाउने र सर्भ गर्ने) को अवस्था, कच्चा पदार्थ सफा गर्ने, भण्डारण गर्ने र पकाउने ठाउँको मापदण्डका बारेमा अन्तरक्रियात्मक प्रस्तुतिकरण भएको थियो ।

पशु ढुवानीमा पशु कल्याणलाई कायम गराउन नसक्नु, मासु उत्पादनका लागि ढुवानी गरिने पशुपंक्षीको स्वास्थ्य जाँच गर्न नाकामा प्रणाली स्थापना हुन नसक्नु, वधशालालाई मापदण्डअनुरुप सञ्चालन गर्न नसक्नु, खुला मासु व्यापार, सरसफाइको अभाव, मासु व्यवसायीको पेशामा व्यक्तिगत सुरक्षा उत्पादन चरणसम्मका समस्या हुन् । विक्री स्थलको सफाइ, भण्डारण, प्रशोधनमा स्तरीयता कायम गर्न नसक्नु व्यावसायीका समस्या हुन् । यस्तै उत्पादित मासु खरिद गर्दा मासुको स्वच्छताका विषयमा सोधखोज नगर्नु उपभोक्ताका कमजोरी छन् । यस्ता विविध कारणले मासुजन्य खाद्यबस्तुको स्वच्छतामा प्रश्नहरु उठ्ने गरेका छन् । यस्ता प्रश्नहरुलाई व्यवसायीहरुको आचरणबाट जवाफ दिने, अनुगमन निरीक्षण गर्नु अघि व्यवसायीहरुलाई मापदण्ड र उनीहरुका दायित्वका विषयमा सचेत गराउन तालिम आयोजना गरिएको हो ।

तालिम लिनु अघि र तालिम लिइसकेपछिको बुझाइमा अन्तर पाएका छौँ । खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका विज्ञ सल्लाहकार जीवनप्रभा लामाले तालिमको नतिजाका बारेमा जानकारी दिँदै भने, ‘उनिहरुले प्रदान गर्नुभएको सेवा र सेवा दिने पूर्वाधारको अवस्था मूल्याङ्कन गरेर प्रमाणीकरण र स्तरीकरण गर्नेछौँ । यसले हरेक उपभोक्तालाई स्वच्छ मासुजन्य पदार्थ प्राप्त गरेको सुनिश्चित हुनेछ ।’ ‘मासुजन्य खाद्य पदार्थको उत्पादन अन्तरनिकाय क्षेत्र हो । यसमा धेरै पक्षको एकीकृत प्रयास चाहिन्छ ।’ अपेक्षित नतिजाका बारेमा कार्यक्रमका सल्लाहकार सन्तोष गिरी भन्नुहुन्छ, ‘निसंकोच उपयोग योग्य खाद्य सेवाका लागि हामी प्रयास गरिरहेका छौँ । यसका अनेक क्षेत्रमध्ये मासुजन्य खाद्यबस्तु प्रमुखमध्येको एक हो ।’

खाद्य स्वच्छता मूल्याङ्कन र प्रमाणीकरण
सेवाको मूल्याङ्कन गर्ने प्रणालीले मासुजन्य खाद्य स्वच्छताको पारदर्शिता र सुरक्षाको निश्चित गर्छ । व्यवसायीलाई जवाफदेही बनाउँछ । स्वच्छता मापदण्डहरूका बारेमा जानकारी प्रदान गर्छ । उपभोक्ताहरूलाई मासु कहाँ किन्ने? कुनको स्तरको किन्ने? भन्ने निर्णय गर्न जानकारी उपलब्ध हुन्छ ।

यसो हुनु स्वच्छ व्यापारिक प्रतिस्पर्धाका दृष्टिले उपयुक्त हुन्छ । यसमा दोस्रो अथवा तेस्रो स्तरमा भएका व्यवसायीले पहिलो हुन सुधारका अवसर प्रदान गर्छ । उपभोक्ताहरुलाई ह्यान्डलिङ्, भण्डारण, तयारी, सरसफाई, खाद्य सुरक्षाजस्ता मासुजन्य खाद्य सेवा व्यवस्थापनका बारेमा जानकारी राख्न मद्दत पु¥याउँछ । खानाको गुणस्तर, ग्राहक सेवा, खाना व्यवसायको स्तरप्रति उत्तरदायी बनाउँछ ।
यसका लागि तालिमसँगै महानगरपालिकाले अनुगमन, निरीक्षण र मूल्याङ्कन तथा प्रमाणीकरण र स्तरीकरण कार्यक्रम सञ्चालन गर्नेछ ।