विविध

काठमाडौंमा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौं । चन्द्रागिरि नगरपालिका–१५ तीनथानामा सोमबार बिहान स्कुटर र मिनी ट्रक एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटना बिहान करिब २:५८ बजे सतुंगलबाट कलंकीतर्फ जाँदै गरेको बा.प्र.०२–०३८ प ९८९७ नम्बरको स्कुटर र सोही दिशातर्फ गुडिरहेको लु १ क ४२५६ नम्बरको मिनी ट्रक ठोक्किँदा भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक चन्द्रागिरि–१२ का ४० वर्षीय दीपक नेपाल र पछाडि सवार चन्द्रागिरि–१४ की ५६ वर्षीया शुभद्रा कुमारी नेपाललाई उद्धार गरी सुरुमा शहीद मेमोरियल अस्पताल लगिएको थियो। थप उपचारका लागि बी एण्ड बी अस्पताल, ग्वार्को रिफर गरिए पनि उपचारकै क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि स्कुटर ट्राफिक प्रहरी प्रभाग कलंकीको नियन्त्रणमा रहेको छ भने मिनी ट्रक र चालकलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।