काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर नजिक दुई महिला मृत अवस्थामा फेला परेका छन्।
मृत्यु हुनेमा बागलुङको जैमिनी नगरपालिका–९ घर भई हाल गैंडाकोट–१२ हर्कपुरमा बस्दै आएकी ३८ वर्षीया कविता राई र भोजपुर घर भई गैंडाकोट–१० पितौजीस्थित गाई फार्ममा काम गर्दै आएकी करिब ४५ वर्षीया कान्छी राई रहेको प्रहरीले जनाएको छ।
सोमबार बिहान मन्दिर नजिकको चौरमा दुई महिला अचेत अवस्थामा रहेको सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। उनीहरूलाई तत्काल उद्धार गरी भेडाबारीस्थित नगर अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार घटनास्थलबाट बियरका बोतल र कुरमुरेका प्याकेट बरामद भएका छन्। मृतक दुवैको शरीरमा बाहिरी चोटपटक नदेखिएको प्रहरीले जनाएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








Add Comment