विविध

श्रीमतीको हत्या प्रयास गरेको आरोपमा श्रीमान पक्राउ

काठमाडौं । सर्लाहीको बागमती नगरपालिका–५ टेकानीस्थित ससुरालीमा श्रीमतीको हत्या प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

प्रहरीका अनुसार धनकौल गाउँपालिका–१ शेखौनाका २१ वर्षीय बसन्ता बैठा धोबीले सोमबार राति करिब ८ बजे आफ्नी १८ वर्षीया श्रीमती चिन्ता देवीलाई कुटपिट गरेपछि साडीको पासो लगाएर झुन्ड्याउने प्रयास गरेका थिए।

घटनाका बेला घरमै रहेकी १० वर्षीया बालिकाले देखेपछि आफन्तलाई खबर गरेकी थिइन्। त्यसपछि आफन्तले तत्काल पासो फुकालेर चिन्ता देवीको उद्धार गरेका थिए।

घाइतेलाई प्रारम्भिक उपचारका लागि बागमती मोडेल अस्पताल, कर्मैया लगिएको थियो। त्यसपछि थप उपचारका लागि वीरगञ्ज रिफर गरिएकी उनलाई हाल रौतहटको गरुडास्थित बेटर नेपाल अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न बसन्ता बैठा धोबीलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।