‘ब्राजिलका लागि अब खेल्न चाहन्न’ : नेयमार

‘ब्राजिलका लागि अब खेल्न चाहन्न’ : नेयमार

काठमाडौं । ब्राजिलका स्टार फुटबलर नेयमार जुनियरले राष्ट्रिय टोलीबाट आफ्नो यात्रा समाप्त भएको संकेत दिएका छन्। कोपा सुडामेरिकानामा सान्टोसले भेनेजुएलाको युनिभर्सिदाद सेन्ट्रललाई ४–२ ले पराजित गरेपछि उनले अब ब्राजिलका लागि खेल्ने इच्छा नरहेको बताएका हुन्।

३४ वर्षीय नेयमारले पत्रकारसँग कुरा गर्दै भने, “मलाई लाग्छ राष्ट्रिय टोलीसँग मेरो समय सकिएको छ। मैले त्यहाँ इतिहास बनाएको छु। धेरै अनुभव बटुलेँ, पहेँलो जर्सीका लागि आफ्नो रगत र जीवनसमेत समर्पण गरेँ। तर अब म फेरि खेल्न चाहन्न।”

यसअघि पनि २०२६ विश्वकपको अन्तिम–१६ मा नर्वेसँग २–१ ले पराजित भएपछि नेयमारले आफ्नो अन्तर्राष्ट्रिय करिअर समाप्त भएको संकेत दिएका थिए। उक्त खेलमा उनले वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्दै इन्जुरी समयको पेनाल्टी गोल गरेका थिए।

ब्राजिलका सर्वाधिक गोलकर्ता नेयमारले राष्ट्रिय टोलीबाट १३० खेलमा ८० गोल र ५८ असिस्ट गरेका छन्। उनले ब्राजिलका लागि चार वटा विश्वकप खेलेका थिए भने सन् २०१३ मा कन्फेडेरेसन्स कप जित्नु उनको राष्ट्रिय टोलीसँगको प्रमुख उपलब्धि हो।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply