काठमाडौं । मिस नेपाल–२०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन्। ललितपुरस्थित द प्लाजा पुल्चोकमा शुक्रबार आयोजित ग्राण्ड फिनालेमा उनी मिस नेपाल वर्ल्ड–२०२६ घोषित भएकी हुन्।
यसै प्रतियोगितामा आर्या निशान्त मिस नेपाल इन्टरनेशनल–२०२६ तथा कशिश सुब्बा मिस नेपाल कोस्मो–२०२६ घोषित भएका छन्। प्रतियोगिता द हिडन ट्रेजरले आयोजना गरेको हो।
दीपमाला यसअघि मिस नेपाल हङकङ इन्टरनेशनल–२०२६ को उपाधिसमेत जितेकी थिइन्। उनी हाल विश्वप्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ब्ल्याकरक (BlackRock) मा इन्भेस्टमेन्ट स्ट्राटेजिस्टका रूपमा कार्यरत छिन्।
पेशागत सफलतासँगै उनी ब्ल्याक बेल्ट तेक्वान्दो खेलाडी, रनवे मोडल, अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालक तथा म्याराथन धाविकाका रूपमा पनि परिचित छिन्। उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) को इतिहासमै सबैभन्दा कम उमेरमा निर्वाचित सदस्य बनेकी थिइन्।
नेपाल क्यान्सर अस्पतालकी गुडविल एम्बास्डरसमेत रहेकी दीपमालाले मिस वर्ल्डको मञ्चमार्फत क्यान्सरसम्बन्धी जनचेतना अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य रहेको बताउँदै आएकी छन्।
दीपमालाको मिस नेपालसँग पारिवारिक सम्बन्ध पनि रोचक छ। उनकी आमाले सन् १९९४ मा आयोजित पहिलो मिस नेपाल प्रतियोगितामा सहभागिता जनाएकी थिइन्। अब छोरीले मिस नेपाल–२०२६ को ताज जित्दै परिवारको त्यो यात्रालाई नयाँ उचाइमा पुर्याएकी छन्।








Add Comment