स्पोर्ट-मनोरञ्जन

विवादपछि फिफा अध्यक्ष इन्फान्टिनोमाथि दबाब बढ्यो, वरिष्ठ अधिकारीहरूको आकस्मिक बैठक

काठमाडौँ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनो विवादित FIFA Forward Enterprise (FFE) योजनाका कारण तीव्र दबाबमा परेका छन्। विश्वभरबाट व्यापक विरोध भएपछि निजी लगानी भित्र्याउने उक्त योजना फिर्ता लिन बाध्य भएका इन्फान्टिनोले मोरक्कोमा बुधबार फिफाका वरिष्ठ नेतृत्वसँग आकस्मिक बैठक बोलाएका छन्।

योजनाविरुद्ध फिफाभित्रै असन्तुष्टि बढ्दै गएको छ। महासचिव माटियास ग्राफस्ट्रोम र प्रमुख सञ्चालन अधिकृत केभिन लामुर ले पनि उक्त योजनाप्रति असहमति जनाएका छन्। ग्राफस्ट्रोमले कर्मचारीलाई पठाएको पत्रमा पछिल्ला घटनाक्रमलाई “दुःखद र निन्दनीय” भनेका छन् भने लामुरले यो “एक व्यक्तिको योजना” भएको टिप्पणी गरेका छन्।

फिफाका विश्व फुटबल विकास प्रमुख आर्सेन वेङ्गर ले पनि आफूले यो योजनाबारे सञ्चारमाध्यमबाट मात्र जानकारी पाएको भन्दै स्वतन्त्र, पारदर्शी र जवाफदेही फिफाको पक्षमा रहेको बताएका छन्।

यता प्रिन्स अली बिन अल हुसेन ले फिफाको पछिल्लो अवस्थालाई “ब्ल्याकमेल”को संज्ञा दिएका छन्। युरोपेली फुटबल महासंघ (UEFA) ले इन्फान्टिनोको नेतृत्वप्रति विश्वास गुमाएको भन्दै उनको राजीनामाको माग गरेको छ। इंग्ल्यान्ड र वेल्स फुटबल संघले पनि आगामी निर्वाचनमा इन्फान्टिनोलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका छन्।

यससँगै फिफा अध्यक्ष इन्फान्टिनोमाथि आन्तरिक र बाह्य दुवै दबाब बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।