स्पोर्ट-मनोरञ्जन

सुवासना खड्काको नाममा रह्यो ‘भ्वाइस किड्स’ सिजन ५

 

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्काले जितेकी छन्। शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाबाट प्रतिस्पर्धा गरेकी खड्का विजेता बनेकी हुन्।

उपाधिसँगै सुवासनाले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन्। फिनालेमा विभिन्न टिमका गरी कुल ८ जना प्रतियोगीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।

सुवासनाको जितपछि उनका कोच वाङ्देन शेर्पाले यो सफलता सपनाजस्तो लागेको प्रतिक्रिया दिएका छन्। पहिलोपटक कोचको भूमिकामा रहेका वाङ्देनले जितको श्रेय सुवासनालाई दिँदै उनलाई भोट गर्ने सबै दर्शकप्रति धन्यवाद व्यक्त गरे।

ग्रान्ड फिनालेमा टिम अर्जुन सापकोटाबाट आन्भी विष्ट र आर्मन कार्की, टिम मिलन नेवारबाट प्राञ्जल ढुंगेल र रुइसाङ पाख्रिन, टिम सत्यराज आचार्यबाट कविना राई र सम्राट खनाल तथा टिम वाङ्देन शेर्पाबाट सुवासना खड्का र क्रिएसन रोका सहभागी थिए।

कार्यक्रममा हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालसहित प्रायोजकका प्रतिनिधिहरूले विजेतालाई पुरस्कार प्रदान गरेका थिए।

यसैबीच, कार्यक्रमका होस्ट सुशील नेपालले ‘भ्वाइस अफ नेपाल’ सिजन ८ पनि चाँडै दर्शकमाझ आउने जानकारी दिएका छन्।