काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो खेल जीवन अब अन्तिम चरणमा पुगेको संकेत गरेका छन्। ४१ वर्षीय रोनाल्डोले आगामी वर्ष आफ्नो फुटबल करियरको सम्भावित अन्तिम वर्ष हुने बताएका छन्।
भोग म्यागजिनसँगको कुराकानीमा रोनाल्डोले आफूले फुटबलबाट शानदार विरासत छाड्न चाहेको बताएका छन्। उनले फुटबलबाट टाढिएपछि आफूलाई व्यस्त राख्न यात्रा गर्ने, प्याडेल खेल्ने तथा आफूले हासिल गरेको सफलताको आनन्द लिने योजना रहेको समेत बताएका छन्।
रोनाल्डोले सन् २०२६ को विश्वकप आफ्नो अन्तिम विश्वकप हुने कुरा यसअघि नै बताएका थिए। पोर्चुगल अन्तिम १६ मा स्पेनसँग पराजित भएपछि उनको विश्वकप यात्रा पनि टुंगिएको थियो। विश्वकपमा उनले ६ संस्करणमा खेल्दै ११ गोल गरेका छन्।
क्लब र देशका लागि रोनाल्डोले हालसम्म ९७६ गोल गरिसकेका छन् र उनी १ हजार गोलको ऐतिहासिक उपलब्धिको नजिक छन्। साउदी प्रो लिग क्लब अल–नस्रसँग उनको सम्झौता सन् २०२७ सम्म रहेको छ।
रोनाल्डोले आफ्नो दुई दशकभन्दा लामो करियरमा म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल–नस्रबाट खेल्दै थुप्रै महत्वपूर्ण उपाधि जितेका छन्। उनले पाँच पटक बालोन डी’ओर, पाँच पटक च्याम्पियन्स लिग तथा इंग्ल्यान्ड, स्पेन र इटालीका लिग उपाधि जितिसकेका छन्।
पोर्चुगलका लागि १४६ अन्तर्राष्ट्रिय गोल गरेका रोनाल्डो पुरुष अन्तर्राष्ट्रिय फुटबलका सर्वाधिक गोलकर्ता पनि हुन्। अब उनी १ हजार करियर गोल पूरा गर्ने लक्ष्यसँगै आफ्नो सम्भावित अन्तिम सिजनतर्फ अघि बढिरहेका छन्।








Add Comment