स्पोर्ट-मनोरञ्जन

विश्वकप फाइनलपछि झडपमा संलग्न अर्जेन्टिनाका पारेदेसलाई १० खेलको प्रतिबन्ध

काठमाडौं । स्पेनसँगको विश्वकप फाइनलमा पराजित भएपछि भएको झडपमा संलग्न अर्जेन्टिनाका मिडफिल्डर लेआन्द्रो पारेदेसलाई १० खेलको प्रतिबन्ध लगाइएको छ। फिफाले शुक्रबार सार्वजनिक गरेको अनुशासनसम्बन्धी निर्णयअनुसार अर्जेन्टिनाकै नाहुएल मोलिनालाई सात खेलको प्रतिबन्ध लगाइएको छ।

विश्वकप फाइनल सकिएलगत्तै मैदानमा स्पेनका खेलाडी तथा वैकल्पिक खेलाडीहरू खुसी मनाउन प्रवेश गरेका बेला पारेदेसले स्पेनका गाभीलाई धकेलेर भुइँमा लडाएपछि छोटो समय झडप भएको थियो।

फिफाका अनुसार पारेदेसमाथि आक्रमणसम्बन्धी तीन वटा आरोप र मोलिनामाथि दुई वटा आरोप लगाइएको थियो। दुवै खेलाडीलाई ९०–९० हजार अमेरिकी डलर जरिवानासमेत गरिएको छ।

अर्जेन्टिनाका थियागो अल्माडा र स्पेनका गाभीलाई खेलभावनाविपरीत व्यवहारको एक–एक आरोपमा एक खेलको प्रतिबन्ध लगाइएको छ। अर्जेन्टिनाका सहायक प्रशिक्षक रोबर्टो आयालालाई झडपमा संलग्न भएको आरोपमा तीन खेलको प्रतिबन्ध र ३० हजार डलर जरिवाना गरिएको छ।

आयालाले फाइनलपछि भएको घटनामा आफ्नो भूमिकाप्रति माफीसमेत मागेका थिए।

अर्जेन्टिनाको फुटबल संघलाई ३ लाख २१ हजार डलर जरिवाना

फिफाले अर्जेन्टिना फुटबल संघ (AFA) लाई विश्वकपका क्रममा विभिन्न अनुशासन उल्लंघन गरेको भन्दै कुल ३ लाख २१ हजार अमेरिकी डलर जरिवाना गरेको छ।

इंग्ल्यान्डविरुद्धको सेमिफाइनल जितपछि केही अर्जेन्टिनी खेलाडीले ‘Las Malvinas Son Argentinas’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए। फिफाले खेलकुद प्रतियोगितालाई गैर–खेलकुद प्रकृतिका प्रदर्शनका लागि प्रयोग गर्नु अनुशासन संहिताविपरीत भएको जनाएको छ।

यसका साथै टोलीको अनुशासनहीनता तथा समर्थकबाट भएका भेदभावपूर्ण नाराबाजी र हाउभाउलगायतका विषयमा समेत कारबाही गरिएको फिफाले जनाएको छ।

AFA लाई अर्जेन्टिनाको आगामी दुई घरेलु खेलमा रंगशालाको क्षमताको ५० प्रतिशत मात्रै दर्शक प्रवेश गराउन आदेश दिइएको छ। साथै, जरिवानामध्ये १ लाख डलर भेदभावविरुद्धको कार्यक्रम सञ्चालनमा लगानी गर्नुपर्ने फिफाले जनाएको छ।

फिफाको निर्णयविरुद्ध अपिल गर्न सकिनेछ। AFA ले निर्णयको पूर्ण आधार मागेर त्यसपछि अपिल गर्ने जनाएको छ। आवश्यक परे खेलकुदसम्बन्धी विवादको सर्वोच्च निकाय Court of Arbitration for Sport (CAS) सम्म जाने विकल्पसमेत खुला रहेको AFA ले जनाएको छ।

AFA का कानुनी व्यवस्थापक आन्द्रेस पाटोन उरिचका अनुसार संघको मुख्य प्राथमिकता पारेदेस र मोलिनामाथि लगाइएको प्रतिबन्धको अवधि घटाउनु रहेको छ।