स्पोर्ट-मनोरञ्जन

इन्फान्टिनोमाथि दबाब बढ्यो, पूर्व तथा वर्तमान फुटबलरले फिफा नेतृत्व परिवर्तनको माग गरे

काठमाडौं । फिफा अध्यक्ष जियानी इन्फान्टिनोको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै प्रभावशाली वर्तमान तथा पूर्व फुटबलरहरूको समूहले फिफाको नेतृत्वमा परिवर्तन आवश्यक रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको संयुक्त वक्तव्यमा उनीहरूले फिफाको वर्तमान नेतृत्वले फुटबलका आधारभूत मूल्य र समर्थक तथा खेलाडीको आवाजलाई बेवास्ता गरेको आरोप लगाएका छन्। उनीहरूले अब मौन बस्न नसकिने भन्दै नेतृत्व परिवर्तनको आवश्यकता औँल्याएका हुन्।

उक्त अभियानमा पूर्व म्यानचेस्टर युनाइटेड तथा आर्सनल डिफेन्डर मिकाएल सिल्भेस्ट्रे, इंग्ल्यान्डकी लुसी ब्रोन्ज, पूर्व इंग्ल्यान्ड गोलरक्षक डेभिड जेम्स तथा फ्रान्सका सन् १९९८ विश्वकप विजेता इमानुएल पेटिटलगायत सहभागी छन्। सिल्भेस्ट्रे फिफाको ‘फिफा लेजेन्ड्स’ कार्यक्रमसँग जोडिनुका साथै खेलाडीको आवाजसम्बन्धी प्यानलमा पनि छन्।

खेलाडीहरूले फिफाको महत्वपूर्ण निर्णय प्रक्रियामा खेलाडी र समर्थकलाई पर्याप्त स्थान नदिइएको भन्दै फुटबलको भविष्य निर्धारणमा उनीहरूको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरेका छन्।

उनीहरूले फिफाभित्रै विश्वास पुनःस्थापित गर्न चाहने व्यक्तिहरू रहेको उल्लेख गर्दै नयाँ युगका लागि संरचनागत परिवर्तन आवश्यक रहेको बताएका छन्। मैदानमा खेल्ने खेलाडी र रंगशालामा उपस्थित समर्थक दुवैलाई फुटबल सञ्चालनमा वास्तविक आवाज दिनुपर्ने उनीहरूको भनाइ छ।

यसैबीच, इन्फान्टिनोले भने आफ्नो पदबाट हट्ने दबाबलाई अस्वीकार गर्दै आएका छन्। उनी आगामी वर्ष मार्चमा हुने फिफा अध्यक्षको निर्वाचनमा पुनः नेतृत्वका लागि अघि बढ्ने तयारीमा छन्। पछिल्लो समय उनले विभिन्न सदस्य राष्ट्रसँग सम्बन्ध सुदृढ गर्ने प्रयाससमेत गरिरहेका छन्।

तर, क्यामरुन फुटबल महासंघका अध्यक्ष तथा पूर्व स्टार खेलाडी सामुएल एटो भने इन्फान्टिनोको पक्षमा देखिएका छन्। उनले इन्फान्टिनोबाट कुनै गम्भीर गल्ती नभएको दाबी गर्दै आगामी निर्वाचनलाई ध्यानमा राखेर मात्र पछिल्लो विवाद चर्किएको बताएका छन्।

एटोले फिफाको ‘फिफा फर्वार्ड इन्टरप्राइज’ योजनालाई पुनः छलफलमा ल्याउनुपर्ने धारणा राख्दै उक्त कार्यक्रमले विशेषगरी अफ्रिकी मुलुकको फुटबलमा शक्ति सन्तुलन सुधार गर्न सक्ने बताएका छन्।

यससँगै फिफा नेतृत्वलाई लिएर फुटबल जगतभित्र समर्थन र विरोधका आवाजहरू थप स्पष्ट रूपमा विभाजित हुँदै गएका छन्।