काठमाडौं । स्वास्थ्य र राष्ट्रका लागि दौड भन्ने नारासहित ‘बुद्धवीर लामा इन्टरनेशनल ५ केएम रन–२०८३’ आयोजना हुने भएको छ। आयोजकका अनुसार दौड प्रतियोगिता २०८३ साल भदौ २० गते शनिबार काठमाडौंको दशरथ रंगशाला, त्रिपुरेश्वरमा आयोजना हुनेछ।
प्रतियोगिताको दौड बिहान ७ः१५ बजे सुरु हुने आयोजकले जनाएको छ। प्रतियोगितामा विभिन्न उमेर समूहका धावक–धाविकाले सहभागिता जनाउन सक्नेछन्।
प्रतियोगितामा १६ वर्षमुनिका बालक तथा बालिका, ४५ वर्ष वा सोभन्दा माथिका पुरुष र ३५ वर्ष वा सोभन्दा माथिका महिला गरी विभिन्न विधा राखिएको छ।
दौडमा सहभागी हुन रु. ४९९ दर्ता शुल्क तोकिएको छ। आयोजकका अनुसार प्रतियोगिताको अनलाइन दर्ता मात्र खुला गरिएको छ भने दर्ताको अन्तिम मिति २०८३ भदौ १३ गते रहेको छ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विजेतालाई प्रमाणपत्र, पदक तथा ट्रफी प्रदान गरिनेछ। साथै, दौड पूरा गर्ने अन्य सहभागीलाई पनि फिनिसर मेडल प्रदान गरिने आयोजकले जनाएको छ।
सहभागीहरूलाई टी–सर्ट र बिब नम्बर उपलब्ध गराइनेछ। आयोजकका अनुसार टी–सर्ट तथा बिब नम्बर २०८३ भदौ १८ र १९ गते वितरण गरिनेछ।
आयोजकले प्रतियोगितामार्फत युवादेखि विभिन्न उमेर समूहका नागरिकलाई शारीरिक स्वास्थ्यप्रति सचेत गराउँदै दौड संस्कृतिको विकास गर्ने उद्देश्य राखेको जनाएको छ।
‘Run for Health, Run for Nation’ अर्थात् ‘स्वास्थ्यका लागि दौडौँ, राष्ट्रका लागि दौडौँ’ भन्ने सन्देशसहित आयोजना हुन लागेको प्रतियोगितामा स्वदेशी तथा विदेशी सहभागीको समेत सहभागिता रहने आयोजकको अपेक्षा छ।








Add Comment