सेयर बजारमा सरकारले घटायो पुँजीगत लाभकर, अब कति तिर्नुपर्छ?

Post Views: 43
सेयर बजारमा सरकारले घटायो पुँजीगत लाभकर, अब कति तिर्नुपर्छ?

काठमाडौं । सेयर लगानीकर्ताले लामो समयदेखि चासो राख्दै आएको पुँजीगत लाभकर घटाउने निर्णय सरकारले गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सेयर बिक्रीबाट प्राप्त हुने नाफामा लाग्ने अग्रिम करको दर घटाउने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै करको नयाँ दरबारे जानकारी दिएका हुन्। उनका अनुसार अर्थ मन्त्रालयको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना २०८३’ लाई आधार बनाएर कर घटाउने निर्णय गरिएको हो।

नयाँ व्यवस्थाअनुसार प्राकृतिक व्यक्तिले ३६५ दिनभन्दा बढी समयसम्म स्वामित्वमा राखेको सेयर बिक्रीबाट प्राप्त लाभमा ३.५ प्रतिशत अग्रिम कर लाग्नेछ। त्यस्तै, ३६५ दिन वा त्यसभन्दा कम समय स्वामित्वमा रहेको सेयरबाट भएको लाभमा ५ प्रतिशत अग्रिम कर तिर्नुपर्नेछ।

यसअघि लामो अवधिसम्म सेयर होल्ड गर्ने लगानीकर्ताको लाभमा ७.५ प्रतिशत र एक वर्ष वा सोभन्दा कम अवधिमा बिक्री गर्दा प्राप्त लाभमा १० प्रतिशत अग्रिम कर लाग्दै आएको थियो।

यसरी हेर्दा लामो अवधिका लगानीकर्ताका लागि करको दर ४ प्रतिशत बिन्दुले तथा छोटो अवधिका लगानीकर्ताका लागि ५ प्रतिशत बिन्दुले घटेको छ।

सरकारको निर्णयपछि सेयर बजारमा लगानीकर्ताको मनोबल बढ्ने अपेक्षा गरिएको छ। लगानीकर्ताहरूले कर घटाउने निर्णयलाई सकारात्मक रूपमा लिएको बताएका छन्।

सेयर बजारका विश्लेषकहरूले पनि पुँजीगत लाभकर घटाउने निर्णयलाई बजार सुधारका लागि महत्वपूर्ण कदमका रूपमा हेरेका छन्। उनीहरूका अनुसार करसम्बन्धी भार घट्दा लगानीकर्ताको मनोविज्ञानमा सकारात्मक प्रभाव पर्न सक्नेछ।

 

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *