यमनका हुथीलाई रोक्न इरानमाथि दबाब दिन चीन सक्रिय

Post Views: 26
यमनका हुथीलाई रोक्न इरानमाथि दबाब दिन चीन सक्रिय

एजेन्सी । यमनका हुथी विद्रोहीको पछिल्लो सैन्य गतिविधिले लाल सागर क्षेत्रमा तनाव बढिरहेका बेला चीनले इरानलाई हुथीमाथि आफ्नो प्रभाव प्रयोग गर्न आग्रह गरेको छ।

साउदी अरबले चीनसँग सहयोग मागेपछि बेइजिङले तेहरानसँग निजी रूपमा कुराकानी गर्दै हुथीको गतिविधि नियन्त्रणमा भूमिका खेल्न आग्रह गरेको बताइएको छ।

हुथी समूहले पछिल्लो एक सातामा लाल सागरको तटीय क्षेत्र तथा बाब अल–मन्देब जलडमरूमध्य आसपास आफ्नो सैन्य गतिविधि तीव्र पारेपछि साउदी अरबको तेल निर्यात र समुद्री मार्ग थप जोखिममा परेको छ।

चीनले सार्वजनिक रूपमा भने क्षेत्रीय तनाव कम गर्न, संवादमार्फत समस्या समाधान गर्न र समुद्री मार्गमा सुरक्षित आवागमन सुनिश्चित गर्न आह्वान गर्दै आएको छ। निजी संवादमा भने क्षेत्रीय द्वन्द्व थप फैलिन नदिन इरानले हुथीमाथि आफ्नो प्रभाव प्रयोग गर्नुपर्नेमा जोड दिइएको बताइएको छ।

चीनका लागि लाल सागर र मध्यपूर्वका समुद्री मार्गको सुरक्षा महत्वपूर्ण छ। मध्यपूर्वबाट हुने तेल आपूर्तिमा चीन ठूलो मात्रामा निर्भर रहेकाले क्षेत्रीय द्वन्द्व थप विस्तार हुँदा उसको ऊर्जा सुरक्षामा समेत असर पर्न सक्छ।

चीनको आग्रहमा इरानको प्रतिक्रिया

चीनको आग्रहप्रति इरानले क्षेत्रीय स्थिरता र शान्तिका लागि आफूविरुद्ध भइरहेको अमेरिका–इजरायल युद्ध अन्त्य हुनुपर्ने धारणा राखेको बताइएको छ।

चीनले भने इरानलाई कुनै स्पष्ट आर्थिक धम्की दिएको वा दबाब अस्वीकार गरे कारबाही गर्ने संकेत गरेको स्रोतहरूले बताएका छैनन्।

चिनियाँ विदेश मन्त्रालयले क्षेत्रीय तनाव यमन र लाल सागरसम्म थप फैलिन नहुने बताउँदै सबै देशको सार्वभौमिकता र सुरक्षाको सम्मान हुनुपर्ने धारणा सार्वजनिक गरेको छ। सर्वसाधारणको जीवनसँग सम्बन्धित महत्वपूर्ण पूर्वाधारलाई निशाना बनाउन नहुने र विवाद संवाद तथा वार्ताबाट समाधान गर्नुपर्ने चीनको भनाइ छ।

लाल सागरपछि होर्मुजको जोखिम

लाल सागरमा हुथीको गतिविधि बढ्दा अन्तर्राष्ट्रिय समुद्री व्यापारमा असर पर्ने चिन्ता बढेको छ। अर्कोतर्फ होर्मुज जलडमरूमध्यमा समेत तनाव कायम रहेकाले मध्यपूर्वका दुई महत्वपूर्ण ऊर्जा तथा व्यापारिक मार्ग एकैपटक प्रभावित हुन सक्ने जोखिम देखिएको छ।

इरान चीनको महत्वपूर्ण व्यापारिक साझेदार हो। चीनले इरानबाट ठूलो मात्रामा कच्चा तेल खरिद गर्दै आएको छ। सन् २०२५ मा इरानको समुद्री मार्गबाट निर्यात भएको तेलमध्ये ८० प्रतिशतभन्दा बढी चीन पुगेको तथ्यांक सार्वजनिक भएको छ। त्यस अवधिमा चीनले औसत दैनिक करिब १४ लाख ब्यारेल इरानी तेल खरिद गरेको थियो।

यसकारण लाल सागर र होर्मुज दुवै क्षेत्रमा लामो समयसम्म अवरोध उत्पन्न भएमा चीनको ऊर्जा आपूर्ति र व्यापारमा समेत दबाब पर्न सक्ने विश्लेषण गरिएको छ।

चीनको प्रभाव कति प्रभावकारी होला?

सन् २०२३ मा चीनकै मध्यस्थतामा इरान र साउदी अरबबीच कूटनीतिक सम्बन्ध पुनःस्थापित गर्ने सहमति भएको थियो। यसले मध्यपूर्वमा चीनको कूटनीतिक भूमिकालाई बलियो बनाएको थियो।

तर अहिले इरानले हुथीमाथि चीनको आग्रहअनुसार कति प्रभाव प्रयोग गर्छ भन्ने स्पष्ट छैन। तेहरानका रणनीतिक, आर्थिक र राजनीतिक प्राथमिकता धेरै भएकाले चीनको आग्रह मात्रका आधारमा आफ्नो नीति परिवर्तन गर्ने अवस्था नरहेको स्रोतहरूको भनाइ छ।

अब चीनले आफ्नो आग्रह कार्यान्वयन गराउन इरानमाथि कूटनीतिक तथा आर्थिक प्रभाव कति प्रयोग गर्छ भन्ने विषय महत्वपूर्ण मानिएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *