चितवन । चितवनको खैरहनी नगरपालिका–८ चौबिसकोठी चोकमा मिनी ट्रक र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ।
पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बुधबार दिउँसो करिब १ः१५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.१ क ५०९९ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना.१८ प ५६१२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।
दुर्घटनामा खैरहनी नगरपालिका–४, चैनपुरका करिब २७ वर्षीय राजेश भुजेल घाइते भएका थिए। उनलाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको थियो।
उपचारकै क्रममा दिउँसो ३ः०२ बजे भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न मिनी ट्रक र त्यसका चालक बारा, सिमरा उपमहानगरपालिका–४ औराहका करिब ५३ वर्षीय तुलसी राईलाई नियन्त्रणमा लिइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।