सप्तरीमा २० क्विन्टल गाँजाजस्तो पदार्थ बरामद, दुई जना पक्राउ

सप्तरीमा २० क्विन्टल गाँजाजस्तो पदार्थ बरामद, दुई जना पक्राउ

काठमाडौं । सप्तरीमा प्रहरीले ठूलो परिमाणमा गाँजाजस्तो देखिने पदार्थ बरामद गरेको छ। डाक्नेश्वरी नगरपालिका–६ फतेपुर टोलमा भण्डारण गरेर राखिएको अवस्थामा प्रहरीले करिब २० क्विन्टल अर्थात् २ हजार किलो पदार्थ बरामद गरेको हो।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले स्थानीय भोला सदाको घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा उनको घरबाट ५६ पोका गाँजाजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

त्यसैगरी मंगल मुखियाको घरमा गरिएको खानतलासीबाट थप ८ पोका पदार्थ बरामद भएको छ। दुवै घरबाट गरी जम्मा ६४ पोका र अन्दाजी २ हजार किलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद पदार्थसहित भोला सदा र मंगल मुखियालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखेको छ।

बरामद पदार्थ परीक्षण तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply