काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) भोलि बाँडफाँड हुने भएको छ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार आईपीओ भोलि बिहान ९ बजे बाँडफाँड गरिनेछ।
कम्पनीले गत भदौ २२ गतेदेखि २५ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो। उक्त आईपीओमा २३ लाख ६१ हजार १२४ वटा आवेदन परेको एनएमबि क्यापिटलले जनाएको छ।
माग गरिएको सेयरको तुलनामा आवेदन संख्या धेरै भएकाले धितोपत्र निष्कासन तथा बाँडफाँडसम्बन्धी नियमअनुसार गोलाप्रथाबाट आईपीओ बाँडफाँड हुने छ। उपलब्ध ८ लाख ६३ हजार २ सय कित्तामध्ये करिब ८६ हजार ३२० जना आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।
बेनी हाइड्रोपावरको जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँ रहेको छ। कम्पनीले जारी पुँजीको २० प्रतिशत अर्थात् २० लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो।
त्यसमध्ये १० लाख ४० हजार कित्ता सेयर आयोजना प्रभावित सोलुखुम्बु जिल्लाका स्थानीय बासिन्दाका लागि यसअघि नै निष्कासन गरिएको थियो। बाँकी १० लाख ४० हजार कित्तामध्ये १ लाख ४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, २० हजार ८ सय कित्ता कम्पनीका कर्मचारीका लागि र ५२ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो।
आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी तथा सामूहिक लगानी कोषका लागि सेयर बाँडफाँड गरिसकेपछि बाँकी ८ लाख ६३ हजार २ सय कित्ता सेयर दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिएको हो।
यसैबीच, इक्रा नेपालले बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको जारीकर्ता मूल्यांकन ‘ICRANP-IR BB’ बाट बढाएर ‘ICRANP-IR BB+’ कायम गरेको छ। उक्त रेटिङले कम्पनीमा वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।
सन् २०१६ मा स्थापना भएको बेनी हाइड्रोपावरले सोलुखुम्बु जिल्लाको बेनी तथा सल्लेरी क्षेत्रमा १८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।