काठमाडौं । अर्थसचिव घनश्याम उपाध्यायले नेपालको अर्थतन्त्रमा केही चुनौती देखिए पनि वित्तीय अवस्था तुलनात्मक रूपमा सबल रहेको बताएका छन्। उनले अर्थतन्त्र अहिले सुस्तता र सुधारको सम्भावनाबीच अघि बढिरहेको बताए।
नेपाली युवा उद्यमी मञ्च, ललितपुर च्याप्टरले सुरु गरेको ‘थिंक ट्यांक सिरिज’ अन्तर्गत आयोजित कार्यक्रममा नेपालको आर्थिक अवस्था, लगानी वातावरण तथा निजी क्षेत्रका समस्याबारे छलफल गर्दै अर्थसचिव उपाध्यायले यस्तो धारणा राखेका हुन्।
उनका अनुसार नेपालको आर्थिक वृद्धिदर लामो समयदेखि अपेक्षाअनुसार बढ्न सकेको छैन। विगत करिब २५ देखि ४० वर्षको औसत आर्थिक वृद्धि ४ प्रतिशतभन्दा कम रहेको र कोभिड–१९ महामारीका क्रममा आर्थिक वृद्धि ऋणात्मकसमेत भएको उनले उल्लेख गरे।
अर्थतन्त्रको कमजोर पक्षका रूपमा उनले निजी लगानीमा आएको सुस्तता, पूँजीगत खर्चको कमजोर कार्यान्वयन, ठूलो व्यापार घाटा र न्यून उत्पादकत्वलाई औंल्याए। स्वदेशी निजी लगानीसँगै प्रत्यक्ष वैदेशिक लगानी बढाउन लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ।
सरकारले छुट्याएको पूँजीगत बजेट प्रभावकारी रूपमा खर्च गर्न सके त्यसले रोजगारी सिर्जना, आर्थिक गतिविधि विस्तार र निजी लगानीलाई समेत प्रोत्साहन गर्ने उनले बताए।
नेपालको वैदेशिक व्यापारमा आयातको हिस्सा करिब ९० प्रतिशत र निर्यातको हिस्सा करिब १० प्रतिशत रहेको उल्लेख गर्दै अर्थसचिव उपाध्यायले उत्पादन बढाएर निर्यात विस्तार गर्नुपर्नेमा जोड दिए।

यद्यपि, अर्थतन्त्रमा केही सकारात्मक सूचकसमेत रहेको उनको भनाइ छ। रेमिट्यान्समा वृद्धि, जलविद्युत् क्षेत्रको विस्तार, तुलनात्मक रूपमा मध्यम मुद्रास्फीति, न्यून ब्याजदर तथा पर्याप्त तरलतालाई उनले अर्थतन्त्रका सकारात्मक पक्षका रूपमा प्रस्तुत गरे।
नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादन (जीडीपी)को करिब ४३ प्रतिशत रहेको उल्लेख गर्दै उनले ऋणलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्नुपर्ने बताए। औद्योगिकीकरण, पूर्वाधार विकास र उत्पादकत्व वृद्धि हुने क्षेत्रमा सार्वजनिक स्रोत प्रयोग गर्नुपर्ने उनको धारणा छ।
रेमिट्यान्सलाई दैनिक उपभोगमा मात्र खर्च नगरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने वातावरण बनाउन सके रोजगारी सिर्जना र आर्थिक वृद्धिमा थप योगदान पुग्ने उनले बताए। सार्वजनिक पूर्वाधारमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने उद्देश्यले सरकारले वैकल्पिक विकास वित्त कोषमार्फत काम अघि बढाइरहेको जानकारीसमेत उनले दिए।
जलविद्युत् उत्पादनलाई औद्योगिकीकरणसँग जोड्नुपर्ने र वैदेशिक रोजगारीलाई पनि सीप तथा उच्च आम्दानीमा आधारित बनाउनुपर्नेमा अर्थसचिव उपाध्यायले जोड दिए। आर्थिक विकासका लागि सुशासन, लगानीमैत्री वातावरण र प्रभावकारी सार्वजनिक सेवा आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष आभुषणज्योति कंशाकारले मध्यम वर्गीय व्यवसायीका समस्या सम्बोधनमा राज्यको ध्यान पुग्नुपर्ने बताए।
उनले भने, ‘अहिले मध्यम वर्गका उद्यमी व्यवसायीहरू धेरै पीडित छन्। जेनजी आन्दोलन र भोटेकोसी बाढीले उनीहरूको भएको सम्पत्तिसमेत प्रभावित भएको छ। बीमाबाट भुक्तानी पाउन समस्या छ भने भएको सम्पत्ति बैंकमा धितो राखिएको छ। थप लगानी गर्ने पूँजीको अभाव छ।’
यस्तो अवस्थामा मध्यम वर्गका व्यवसायीलाई पुनः व्यवसायमा फर्किन सक्ने वातावरण सरकारले निर्माण गर्नुपर्ने कंशाकारको भनाइ थियो।
ललितपुर च्याप्टरका अध्यक्ष अनुकुल श्रेष्ठले सरकारका नीति र युवा उद्यमीका वास्तविक समस्या तथा सरोकारबीच ठूलो दूरी रहेको बताए। यही दूरी कम गर्दै नीतिगत विषयमा प्रत्यक्ष छलफल गर्ने उद्देश्यले ‘थिंक ट्यांक सिरिज’ सुरु गरिएको उनले बताए।
पहिलो कार्यक्रमबाट सुरु भएको नीतिगत बहसलाई आगामी दिनमा पनि निरन्तरता दिँदै युवा उद्यमीका समस्या र आर्थिक नीतिबारे छलफललाई थप विस्तार गर्ने श्रेष्ठले बताए।
