असोज ९ किन महत्वपूर्ण हो? कुन प्रदेशमा? कस्तो वर्षा?

असोज ९ किन महत्वपूर्ण हो? कुन प्रदेशमा? कस्तो वर्षा?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार उक्त अवधिमा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ। ती प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।

त्यस्तै, कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। यस अवधिमा देशका अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।

विभागका अनुसार उत्तर अन्डमान सागर तथा आसपास विकसित न्यून चापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भाग आसपासमा रहेको छ। उक्त प्रणाली थप शक्तिशाली बन्दै Deep Depression मा विकसित भएर पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको विभागले जनाएको छ।

यसको प्रभावका कारण बुधबारदेखि नै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

बाढी, पहिरो र डुबानको जोखिम

भारीदेखि धेरै भारी वर्षाका कारण बाढी, पहिरो तथा गेग्रान बहाव आउन सक्ने र शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने विभागले जनाएको छ।

जोखिमलाई मध्यनजर गर्दै विभागले अत्यावश्यकबाहेक टाढाको तथा रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ। जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटरलगायत आवश्यक उपकरण तयारी अवस्थामा राख्न पनि सम्बन्धित निकायलाई आग्रह गरिएको छ।

यस्तै, जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकहरूले पूर्वसूचना र चेतावनीअनुसार जोखिमयुक्त स्थानमा बसोबास गर्ने परिवारलाई आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरणका लागि पूर्वतयारी गर्न भनिएको छ।

आकस्मिक बाढी आउन सक्ने खोला तथा खहरे आसपासका बस्ती, पहिरोको जोखिम भएका क्षेत्र र नदी तथा खोलाको किनारमा बसोबास गर्नेहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद्मा सहयोग आवश्यक परे १२३४, नेपाल प्रहरीको हटलाइन १०० र सशस्त्र प्रहरी बल नेपालको हटलाइन १११४ मा सम्पर्क गर्न सकिने विभागले जनाएको छ।

विभागले मौसम तथा विपद्सम्बन्धी थप जानकारीका लागि नेपाल जल तथा मौसम विज्ञान विभाग र सम्बन्धित निकायबाट जारी हुने अद्यावधिक पूर्वानुमान, पूर्वसूचना तथा चेतावनी नियमित रूपमा हेर्नसमेत आग्रह गरेको छ।

 

 

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply