काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि सक्रिय बनाइएको प्रधानमन्त्री राहत कोषमा ठूलो रकम मौज्दात रहेको पाइएको छ।
कोषमा हाल १५ अर्ब ५३ करोड २४ लाख ४२ हजार ९२६ रुपैयाँ मौज्दात रहेको छ। उक्त रकममध्ये विभिन्न ९ वटा वाणिज्य बैंकमा ११ अर्ब ६३ करोड ८० लाख ९८ हजार २९१ रुपैयाँ जम्मा रहेको छ।
त्यस्तै, कोषका दुई वटा वाणिज्य बैंकका खातामा २ करोड ५४ लाख ७१ हजार ५४६ अमेरिकी डलर मौज्दात रहेको जनाइएको छ।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि भने प्रधानमन्त्री राहत कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निकासा भइसकेको छ।
बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक स्रोत व्यवस्थापन गर्ने उद्देश्यले प्रधानमन्त्री राहत कोषमा रकम संकलन गरिएको हो।
कोषमा रहेको मौज्दातमध्ये ठूलो हिस्सा नेपाली रुपैयाँमा रहे पनि अमेरिकी डलरमा समेत उल्लेख्य रकम रहेको देखिएको छ। प्रभावित क्षेत्रमा राहत तथा उद्धारको काम अघि बढिरहेका बेला कोषमा रहेको रकमको उपयोग र थप निकासालाई समेत चासोका साथ हेरिएको छ।