काठमाडौं । देशका अधिकांश भूभागमा शुक्रबार मौसम बदली रहने र विभिन्न प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमानअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा मध्यमदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना छ। केही स्थानमा हावाहुरीसमेत चल्न सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने देखिएको छ।
कोशी प्रदेशमा हिमाली र पहाडी क्षेत्रमा धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने र थोरै स्थानमा धेरै भारी वर्षा हुन सक्ने अनुमान छ। तराई क्षेत्रमा पनि वर्षासँगै केही स्थानमा धेरै भारी वर्षा र हावाहुरीको सम्भावना छ।
बागमती प्रदेशमा हिमाली, पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने देखिएको छ। केही स्थानमा धेरै भारी वर्षा तथा तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेको छ।
गण्डकी प्रदेशमा हिमाली र पहाडी क्षेत्रका धेरै स्थानमा मध्यम वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ। तराई क्षेत्रमा पनि वर्षासँगै केही स्थानमा धेरै भारी वर्षा र हावाहुरी हुन सक्ने पूर्वानुमान गरिएको छ।
यस्तै, लुम्बिनी प्रदेशमा हिमाली, पहाडी र तराई क्षेत्रका केही स्थानमा मध्यमदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। विशेषगरी रातिको समयमा हिमाली, पहाडी तथा तराईका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने अनुमान छ।
कर्णाली प्रदेशमा हिमाली र पहाडी क्षेत्रमा धेरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा र केही स्थानमा धेरै भारी वर्षाको सम्भावना छ। दिउँसो भने विभिन्न भूभागमा मध्यम वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेशमा पनि हिमाली, पहाडी र तराई क्षेत्रका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने र एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने अनुमान छ।
मधेश प्रदेशमा रातिको समयमा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा स्थानीय खोलानालामा पानीको बहाव बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। मौसम तथा बाढीसम्बन्धी तत्कालीन जानकारीका लागि नेपाल मौसम पूर्वानुमान महाशाखाले ११५५ नम्बर उपलब्ध गराएको छ।