काठमाडौं । जनकपुरबाट काठमाडौं आउँदै गरेको सार्वजनिक बसमा सवार तीन भारतीय नागरिकलाई खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ। उनीहरूको बयान तथा थप अनुसन्धानका क्रममा उक्त लागुऔषध खरिद गर्ने भनिएका दुई जनालाई पनि काठमाडौंको सुन्धारास्थित एक होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार २०८३ असोज २३ गते लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय थानकोट र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त टोलीले काठमाडौं प्रवेश गर्ने सार्वजनिक सवारीसाधन तथा शंकास्पद यात्रुहरूको जाँच गर्ने क्रममा चन्द्रागिरि नगरपालिका–२ स्थित सुरुङमार्गमा बस जाँच गरेको थियो।
सो क्रममा बसमा सवार भारतको बिहारस्थित समस्तीपुरका १९ वर्षीय पुष्पम प्रकाश, २५ वर्षीय महेश कुमार र १९ वर्षीय सोनु कुमारलाई ३२.७३० ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो।
प्रहरीले थप अनुसन्धान गर्ने क्रममा उक्त लागुऔषध खरिद गरी लिन खोजेको आरोपमा धादिङको गल्छी गाउँपालिका–६ की २३ वर्षीया कृष्टी खड्की र २५ वर्षीय रामकृष्ण खड्कीलाई काठमाडौं महानगरपालिका–२२, सुन्धारास्थित एक होटलबाट पक्राउ गरेको जनाएको छ। उनीहरूको साथबाट ट्रामाडोल १ हजार ११० क्याप्सुलसमेत बरामद भएको प्रहरी विवरणमा उल्लेख छ।
पक्राउ परेका पाँचै जनाको साथबाट ३२.७३० ग्राम खैरो हेरोइन, ट्रामाडोल १ हजार ११० क्याप्सुल, आठ थान मोबाइल र ७५ हजार २२० रुपैयाँ नगद बरामद गरिएको छ।
पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी वृत्त थानकोटमा बुझाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।