बुढीगण्डकीमा बाढीको वितण्डा : दुई झोलुङ्गे र एक फलामे पुल बगायो, बस्तीमा क्षति

बुढीगण्डकीमा बाढीको वितण्डा : दुई झोलुङ्गे र एक फलामे पुल बगायो, बस्तीमा क्षति

गोरखा । गोरखामा पहिरोका कारण थुनिएको बुढीगण्डकी नदीमा आएको बाढीले विभिन्न स्थानमा ठूलो क्षति पुर्‍याएको छ। बाढीले दुईवटा झोलुङ्गे पुल र एउटा फलामे पक्की पुल बगाउनुका साथै घर तथा टहरामा क्षति पुर्‍याएको छ। केही घर जोखिममा परेका छन्।

चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङबीच पहिरो खसेपछि थुनिएको बुढीगण्डकी नदीमा आएको बाढीले तल्लो तटीय क्षेत्रका बस्ती प्रभावित भएका हुन्।

प्राप्त विवरणअनुसार चुमनुब्री गाउँपालिका–३ न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बाढीले बगाएको छ। सोही वडाको सिर्दिबास निवासी रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको छ भने अर्को घरमा बाढी पसेको छ।

त्यस्तै, धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुलसमेत बाढीले बगाएको छ। माछिखोलाको तल्लो बस्तीमा बाढी पस्दा पाँचदेखि सातवटा घर र सोही संख्यामा टहरामा बाढी पसेको विवरणमा उल्लेख छ।

बाढीको जोखिम धार्चे गाउँपालिका–३ सल्लेरीमा समेत देखिएको छ। त्यहाँका २० देखि २२ वटासम्म घर जोखिममा रहेको जनाइएको छ।

यसैगरी, आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बाढीले बगाएको छ। पुलहरू बगाउँदा स्थानीयको आवतजावत र यातायातमा थप समस्या उत्पन्न हुने देखिएको छ।

पहिरोका कारण थुनिएको नदीमा बाढी आएपछि बुढीगण्डकी आसपासका बस्तीमा क्षति पुगेको हो। प्रभावित क्षेत्रको थप अवस्था, मानवीय क्षति भए–नभएको विवरण तथा उद्धार र जोखिम न्यूनीकरणका प्रयासबारे थप जानकारी आउन बाँकी छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply