नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–८, थकाली चोकमा अज्ञात वस्तु काट्ने क्रममा अचानक विस्फोट हुँदा दुई जना घाइते भएका छन्।
घटना सोमबार बिहान करिब ११ः२० बजे भएको हो। प्रहरीका अनुसार मध्यबिन्दु नगरपालिका–३, ब्रह्मस्थानका ४९ वर्षीय एकासी बोटेले कावासोती नगरपालिका–१७ स्थित अमलटारीघाटको नारायणी नदी किनारमा शंकास्पद वस्तु फेला पारेका थिए।
बाहिरी भागमा डोरीजस्तो वस्तुले बेरिएको र भित्री भाग फलामजस्तो देखिने उक्त वस्तु बेलनाकार रहेको थियो। करिब दुई फिट लम्बाइ र १४ इन्च गोलाइ भएको वस्तु बोटेले घरमा ल्याएका थिए।
त्यसपछि उनले भारतको मोतिहारी घर भई हाल कावासोती नगरपालिका–८, थकाली चोकमा बस्दै आएका २८ वर्षीय सचिन कुमारसँग मिलेर हेक्सा ब्लेडले उक्त वस्तु काट्ने प्रयास गरेका थिए। सोही क्रममा वस्तु अचानक पड्किँदा दुवै जना घाइते भएको प्रहरीले जनाएको छ।
घाइते दुवैलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा लगिएको छ। उनीहरूको अवस्था मध्यम रहेको जनाइएको छ।
नदी किनारमा फेला परेको उक्त वस्तु के थियो र कसरी विस्फोट भयो भन्नेबारे थप अनुसन्धान भइरहेको छ।