KYC अपडेट गर्ने बहानामा लाखभन्दा बढी ठगी, तीन जना पक्राउ

KYC अपडेट गर्ने बहानामा लाखभन्दा बढी ठगी, तीन जना पक्राउ

रौतहट। बैंक तथा ई–सेवाका कर्मचारी भएको भन्दै अनलाइनमार्फत KYC अपडेट गर्ने बहानामा सेवाग्राहीबाट ४९ लाख ८७ हजार रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार गत असोज २३ गते अपराह्न करिब ४ बजे रौतहटको गौर नगरपालिका–३ पोखरिया टोल र वडा नम्बर ५ कोईरी टोलबाट उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित सीतामढी जिल्लाको बैरगनिया घर भई गौर नगरपालिका–३ मा डेरा गरी बस्ने २४ वर्षीय मो. साहिल, २२ वर्षीया सलोनी कुमारी सोनी र गौर नगरपालिका–५ का १८ वर्षीय नितेश कुशवाहा रहेका छन्।

प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूले विभिन्न बैंक तथा ई–सेवाका कर्मचारी भएको परिचय दिँदै सेवाग्राहीलाई फोन तथा भिडियो कल गर्ने गरेका थिए। KYC अपडेट गर्नुपर्ने भन्दै मोबाइलको स्क्रिन सेयर गर्न लगाउने र ओटीपी (OTP) लगायतका बैंकिङ विवरण प्राप्त गरेपछि बैंक तथा वालेट खाताबाट रकम अनधिकृत रूपमा स्थानान्तरण गरी ठगी गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट नेपाली रुपैयाँ १ लाख ६२ हजार २१०, भारतीय रुपैयाँ ३ हजार २३६, मोबाइल फोन सात थान, सिमकार्ड ११ थान, विभिन्न बैंक तथा वित्तीय संस्थाका डिपोजिट भौचर ३० थान, एटीएम कार्ड तीन थान र चेक दुई थान बरामद गरेको छ।

बरामद चेकमध्ये प्रभु बैंकको १६ हजार रुपैयाँ र ग्लोबल आईएमई बैंकको २० लाख रुपैयाँको चेक रहेको छ। प्रहरीले चेकबुक, डायरी, कपी, पेनड्राइभ, मेमोरी कार्ड तथा बैंकिङ विवरण लेखिएका पर्चालगायत सामग्री पनि बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार KYC अपडेट गर्ने बहानामा हालसम्म ४९ लाख ८७ हजार ३३३ रुपैयाँ ठगी भएको खुलेको छ। पक्राउ परेका तीनै जनामाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

बैंक वा डिजिटल वालेटको KYC अपडेट गर्ने नाममा अपरिचित व्यक्तिले ओटीपी, पासवर्ड वा मोबाइल स्क्रिन सेयर गर्न आग्रह गरेमा सावधानी अपनाउन आवश्यक छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply