जाजरकोटमा ३०० मिटर तल खस्यो जिप, चालकसहित दुई जनाको मृत्यु

जाजरकोटमा ३०० मिटर तल खस्यो जिप, चालकसहित दुई जनाको मृत्यु

जाजरकोट । जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

सुर्खेतबाट जुनिचाँदेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च १२४३ नम्बरको जिप आज बिहान करिब २ बजे अनियन्त्रित भएर सडकबाट करिब ३०० मिटर तल खसेको हो।

दुर्घटनामा जिप चालक जुनिचाँदे गाउँपालिका–९ कल्ली स्यालाका २० वर्षीय सन्तबहादुर बस्नेत र जुनिचाँदे गाउँपालिका–३ स्यालाका दिलबहादुर भण्डारीकी ३० वर्षीया श्रीमती बिपना भण्डारीको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा दिलबहादुर भण्डारी, उनका चार वर्षीय छोरा सुशील भण्डारी र ५० वर्षीया सितला टमटा घाइते भएका छन्। घाइतेहरूको टाउको, घाँटी, छाती, हात तथा ढाडमा चोट लागेको र अवस्था मध्यम रहेको बताइएको छ।

घाइते तीनै जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ। दुर्घटना कसरी भयो भन्नेबारे थप विवरण उपलब्ध हुन बाँकी छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply