नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, साँवा–ब्याज तिर्न चार महिनामै १ खर्ब ४० अर्ब खर्च

नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, साँवा–ब्याज तिर्न चार महिनामै १ खर्ब ४० अर्ब खर्च

काठमाडौं । नेपालको सार्वजनिक ऋण चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिक मसान्तसम्म २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पछिल्लो प्रतिवेदनले मुलुकको ऋण दायित्व कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.०८ प्रतिशत पुगेको देखाएको छ।

कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५२.९३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७.०७ प्रतिशत छ। रकमका आधारमा वैदेशिक ऋण १५ खर्ब ७४ अर्ब ६४ करोड २१ लाख रुपैयाँ पुगेको छ भने आन्तरिक ऋण १४ खर्ब ४० अर्ब ४७ करोड ५९ लाख रुपैयाँ रहेको छ।

प्रतिवेदनअनुसार विनिमय दरमा भएको अनुकूल परिवर्तनका कारण सार्वजनिक ऋण दायित्व ४३ अर्ब ११ करोड २० लाख रुपैयाँले घटेको छ।

सरकारले चालु आर्थिक वर्षमा ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको छ। तर कात्तिक मसान्तसम्म १ खर्ब ५३ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ मात्रै ऋण प्राप्त भएको छ। यो वार्षिक लक्ष्यको २३.३७ प्रतिशत हो।

ऋण परिचालनको अवस्था हेर्दा आन्तरिक ऋणतर्फ निर्धारित लक्ष्यको ३०.४९ प्रतिशत प्राप्त भएको छ भने वैदेशिक ऋणतर्फ ११.६२ प्रतिशत मात्रै प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ।

यसै अवधिमा सरकारले सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीमा १ खर्ब ४० अर्ब ९३ करोड ६१ लाख रुपैयाँ खर्च गरेको छ। यो चालु आर्थिक वर्षका लागि विनियोजित बजेटको ३३.७३ प्रतिशत हो। भुक्तानीमध्ये आन्तरिक ऋणको साँवा तथा ब्याजमा १ खर्ब १९ अर्ब १८ करोड ८२ लाख रुपैयाँ र वैदेशिक ऋण भुक्तानीमा २१ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ।

सरकारले चालु आर्थिक वर्षमा सार्वजनिक ऋणको साँवा र ब्याज तिर्न ४ खर्ब १७ अर्ब ८८ करोड ७० लाख रुपैयाँ बजेट छुट्याएको छ। ऋणको कुल आकारसँगै त्यसको भुक्तानीमा पनि ठूलो रकम खर्चिनुपर्ने अवस्था देखिएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply