काठमाडौँ, ११ वैशाख । नेपाल विद्यार्थी संघले केन्द्रीय समितिको बैठक बिना नेतृत्वले आमन्त्रित केन्द्रीय सदस्य र विभिन्न क्याम्पसमा जिम्मेवारी दिएको भन्दै उक्त निर्णय खारेज गर्न माग गरेको छ । नेविसंघले आज पत्रकार सम्मेलन गरी विधानविपरीत विश्व विद्यालय समिति, जिल्ला समिति, क्याम्पस एकाइ समिति, विदेशस्थित सम्पर्क समिति गठन गरेको भन्दै निर्णय खारेज गर्न माग गरेको हो । पत्रकार सम्मेलनमा नेविसंघका नेता मनोजमणि आचार्यले नेविसंघजस्तो ऐतिहासिक संगठनलाई तानाशाही शैलीमा अगाडि बढाएको भन्दै उक्त कदम आफूलाई मान्य नहुने बताउनुभयो । उहाँले ‘बलियो काँग्रेस निर्माणका लागि सशक्त नेविसंघ’ बनाउनुपर्ने भन्दै उक्त कार्य वर्तमान नेतृत्वबाट हुन नसकेको उल्लेख गर्नुभयो ।
नेविसंघ उपाध्यक्ष उर्मिला थपलियाले महाधिवेशन सुनिश्चितताका लागि तत्काल विधान सम्मेलन राखी मिति तोक्नुपर्ने बताउनुभयो । “महाधिवेशन हुन चार महिना बाँकी रहँदा अध्यक्षको यो कार्यशैलीले निर्वाचन हुन सक्दैन,” – उहाँले भन्नुभयो । नेविसंघका नेता दीपक भट्टराई महाधिवेशनको सुनिश्चितताका लागि विधान विपरीत गरिएका सबै नियुक्ति खारेज हुनुपर्ने बताउनुभयो । चिठी लेखेर गरिएका नियुक्तिले नेविसंघ द्वन्द्वमा फसेको उहाँको भनाइ थियो । नेविसंघको ११ औँ महाधिवेशन भएको तीन महिनाभित्र विवादित जिल्लाको विवाद समाधान गर्ने भनिए पनि २० महिना पुग्दासम्म नभएको उपाध्यक्ष नवीन राईले बताउनुभयो । अध्यक्ष नैनसिंह महरले संगठन विधान विपरीत सञ्चालन गरेको भन्दै उपाध्यक्ष नवीन राई, उर्मिला थपलिया, खड्गबहादुर डाँगी, प्रकाश राना र सागर परियारले असन्तुष्टी जनाउँदै सोमबार काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण समेत गराएका छन् ।
Add Comment