विविध

सुन तस्करी र हत्याका आरोपीसँग बयान सकियो

विराटनगर,२५ वैशाख ।  साढे तेत्तीस किलो सुन तस्करी र सनम शाक्यको हत्याको प्रकरणमा पक्राउमा परेका ३० जनाको बयान आज सकिएको छ । सो प्रकरणमा गत बुधबार ६३ जनामाथि जिल्ला प्रहरी कार्यालयद्वारा मुद्धा दर्ता भएकामा पक्राउमा परेका ३० जनाको क्रमिक रुपमा बयान लिने क्रम आज सकिएको हो ।
जिल्ला अदालतका श्रेस्तेदार नवराज दुलालका अनुसार गत बिहीबारदेखि शुरु भएको बयान लिने कार्य आज सम्पन्न भएको बताउनुभयो । बुधबार कानून दिवस भएकाले बिहीबारदेखि आरोपीविरुद्ध थुनछेकको बहस शुरु हुने उहाँले जानकारी गराउनुभयो । यस घटनामा सनम शाक्यको हत्याका आरोपी छ जना र सुन तस्करीका साथै अपहरण तथा शरीर बन्धकलगायत मुद्दामा प्रहरीका अवकाशप्राप्त एक उच्च पदाधिकारी र हाल निलम्बित छ प्रहरी पदाधिकारी गरी सात, एयरलायन्सका कर्मचारी र सुनका व्यापारीमाथि बिहीबारदेखि थुनछेकको बहस शुरु हुनेछ ।