विविध

‘संविधान कार्यान्वयनका लागि दलहरु एकजुट हुनुपर्छ’

काठमाडौँ, ६ माघ । विभिन्न राजनीतिक दलका नेताहरुले संविधान पूर्ण कार्यान्वयनका लागि दलहरु एकजुट हुनुपर्ने बताएका छन् । दिशानिर्देश प्रेस क्लबले आज यहाँ आयोजना गरेको ‘भेदभावपूर्ण वर्गीकरण खारेज गर, लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन गर’ नाराका साथ ‘प्रतिनिधिसभा तथा प्रदेशसभाको मत परिणाम र संविधानको पूर्ण कार्यान्वयन’ विषयक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले संविधानको आधारमा निर्वाचन गरेर संविधान कार्यान्वयनको थालनी गरेको बताउनुभयो ।
उहाँले राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते हुन लागेको भन्दै निर्वाचनमा सहयोग गर्न सबै दललाई आग्रह गर्नुभयो । राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसद्ले पूर्णता पाउने उहाँको भनाइ थियो । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले संविधान बनाउने दलका नेता कार्यकर्ताले नै संविधान कार्यान्वयनको जिम्मा लिनुपर्ने बताउनुभयो । लामो समयदेखिको नेपाली जनताको संघर्षबाट बनेको संविधानले नेपाली जनताको जित भएको भन्दै यसलाई सफल कार्यान्वयनका लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बस्नेतले निर्वाचनको आवश्यक प्रक्रिया पूरा गरेर सत्ता हस्तान्तरण गर्ने उल्लेख गर्नुभयो । उहाँले पत्रपत्रिकामाथि भएको भेदभावपूर्ण वर्गीकरणका बारेमा सरकार गम्भीर रहेको बताउनुभयो । नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङले संविधानले दिएका हकलाई व्यवहारमा लागू गरेमात्र संविधान कार्यान्वय हुने बताउनुभयो । “संविधान कार्यान्वयन भएन भने देश ठूलो अफ्ठ्यारोमा पर्छ,”– उहाँले भन्नुभयो । उहाँले अद्यावधिक निर्वाचन र प्रजातन्त्रमा विश्वास गर्ने शक्तिले जनताको जनादेशलाई दराजमा थन्क्याउने काम गरेको आरोप समेत लगाउनुभयो ।
काँग्रेस नेता अर्जुननरसिंह केसीले काँग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयनका लागि काँग्रेस जिम्मेवार रहेको बताउनुभयो । उहाँले निर्वाचन जित्दैमा मात्तिने र हार्दैमा आत्तिने बानी नगर्न सबै राजनीतिक दल र दलका नेतालाई आग्रह गर्नुभयो । नेता केसीले पत्रपत्रिकामा गरिने भेदभावपूर्ण विज्ञापनबारे सम्बन्धित पक्ष गम्भीर हुनुपर्ने भन्दै प्रेस स्वतन्त्रताको पक्षमा काँग्रेस रहेको स्पष्ट पार्नुभयो । नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले मुलुकमा देखिएको समस्या सहमति, सहकार्य र एकताबाट टुङ्गो लगाउनुपर्ने बताउनुभयो । उहाँले मुलुक संविधान कार्यान्वयनको बाटोमा अगाडि बढेको भन्दै यसका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उल्लेख गर्नुभयो ।
नेकपा (माले)का अध्यक्ष सीपी मैनालीले संविधानको आधारमा निर्वाचन भए पनि मतपत्रमा देखिएको अन्योलताले मतदाता झुक्किएको भन्दै अस्पष्टता हटाउनुपर्ने बताउनुभयो । राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले संविधानमा भएको जटिलताले राष्ट्रियसभाको निर्वाचनमा जटिलता आएको भन्दै संविधानमा भएका जटिलतालाई हटाउन सबै राजनीतिक दल लाग्नुपर्ने बताउनुभयो ।