समाचार

प्रधानमन्त्रीद्वारा राष्ट्रियसभामा नीति तथा कार्यक्रम छलफल गर्न आग्रह

काठमाडौँ, १० जेठ ।राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही सोमबार संसद्को दुवै सदनमा प्रस्तुत गरिएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल थाल्न प्रस्ताव गर्नुभयो । उक्त प्रस्तावमाथि आफ्नो धारणा राख्दै सदस्य सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रममा नीतिमात्र आएको तर कुनै पनि कार्यक्रम र समयावधि नतोकिएको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रम स्पष्ट नभएको भन्दै विकासका लागि साधन र स्रोतका विषय खुलाउनुपर्नेमा जोड दिनुभयो । अर्का सदस्य वृशेषचन्द्र लालले सरकारको नीति तथा कार्यक्रम महत्वाकांक्षी र अंक गणितीय खेल भएको टिप्पणी गर्नुभयो । उहाँले दम्भको भाषामा नीति तथा कार्यक्रम आएको गुनासो गर्दै संविधान संशोधनको विषय पनि नीति तथा कार्यक्रममा राखिनुपर्ने माग गर्नुभयो ।

त्यस्तै, सदस्य प्रमिला कुमारीले जनसंख्या र मानव विकास सूचकांकलाई आधारमा बनाएर साधन र स्रोतको बाँडफाँड गरिनुपर्नेमा नीति तथा कार्यक्रमले जोड दिनुपर्ने सुझाव दिनुभयो । संघीयता कार्यान्वयनका लागि नीति तथा कार्यक्रम अनुदार रहेको भन्दै उहाँले मधेशका जिल्लामा रहेको गरिबी र अशिक्षालाई ध्यानमा राखेर कार्यक्रम ल्याइनुपर्नेमा जोड दिनुभयो । तीनै सदस्यले सरकारको नीति तथा कार्यक्रमको संशोधनको माग गर्दै आ–आफ्नो धारणा राख्नुभएको हो ।