स्पोर्ट-मनोरञ्जन

भलिबलमा अन्तर्राष्ट्रिय सहयोग जुटाउँछु : अध्यक्ष श्रेष्ठ

काठमाडौँ, १० माघ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले राष्ट्रिय खेलको मान्यता पाएको भलिबल खेलको विकासका लागि यस वर्ष अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट ठूलो आर्थिक सहयोग उपलब्ध गराउन प्रक्रिया शुरु गरिएको बताउनुभएको छ । नेपाल भलिबल संघले यहाँ आज आयोजना गरेको अन्तक्र्रियामा उहाँले प्रत्येक वर्ष एउटा खेलकुदको विधामा प्राप्त हुने सो सहयोग यसपटक भलिबलका लागि माग गरिएको जानकारी दिनुभयो ।
काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट निर्वाचित सांसद श्रेष्ठले भलिबल खेलका लागि विगतमा विनियोजन गरिएका रकम अपुग भएको र यस खेलको विकासमा निजी क्षेत्रको सहकार्य र सहयोग अत्यावश्यक भएको बताउनुभयो । संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले खेलकुद क्षेत्रको विकासले देशको पहिचान अन्तर्राष्ट्रिय तहमा फैलाउन सकिने विचार व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा यही माघ १४ र १५ गते हङकङ र मकाउमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण भलिबल खेल्न जान लागेको नेपाली टोलीलाई बिदाइसमेत गरिएको थियो । उक्त सहयोग प्राप्त भएमा सो राशि दुई लाख अमेरिकी डलरभन्दा माथिको हुने बताइएको छ ।