स्पोर्ट-मनोरञ्जन

सोनाम ल्होछारको अवसरमा बृहत सांस्कृतिक कार्यक्रम हुने

नुवाकोट, २१ माघ । जिल्लाको विदुर नगरपालिका – ९ कोलनीमा बृहत सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ समुदायको महान राष्ट्रिय सांस्कृतिक पर्व २८५४ औं सोनाम ल्होछार (खि ल्होरनागी, कुकुर बर्ग)  को अवसरमा नेपाल तामाङ घेदुङ नुवाकोट र थ्री. डि. युवा क्लब कोलनीको संयुक्त आयोजनामा यही माघ २७ गते शनिबारका दिन बृहत सोनाम ल्होछार कार्यक्रम गर्न लागिएको हो ।
कुशल कार्यक्रम संचालक तथा संचालिकाको रूपमा उभ्याउन सफल एवम् देशको विभिन्न समाजिक तथा सांस्कृतिक कार्यक्रमहरुमा व्यस्त सुकसागर तामाङ र बनु लोप्चन तामाङद्वारा संचालन गर्ने बृहत ल्होछार सांस्कृतिक कार्यक्रम थ्री.डि. खेल मैदान कोलनीमा बिहान ११ बजेबाट सुरु हुने आयोजकले बताएको छ ।
जिल्लाकै ध्यान खिचेको र सबैले चासोको रुपमा हेरिएको विशेष सोनाम ल्होछार बृहत साँस्कृतिक महोत्सवको प्रमुख अतिथिमा माओवादी केन्द्रका केन्द्रिय सचिबालय सदस्य, तामाङ घेदुङका केन्द्रिय सल्लाहकार तथा नुवाकोट १ प्रतिनिधि सभा सदस्य हित बहादुर तामाङ र विशेष अतिथि तथा अन्य अतिथिहरु समेतको उपस्थिति रहने जानकारी आयोजक संस्था नुवाकोट तामाङ घेदुङका अध्यक्ष जयमान वाईबा तामाङले गराएका थिए । साथै तामाङले म्यागङको किम्ताङ, बुङ्ताङ लगायत र अन्य नुवाकोट जिल्लाको गाउँ गाउँबाट समेत सहभागी भएर पुरानो मौलिक संस्कृति झल्किने नाच एवम् कलाहरुको प्रदर्शनी हुने बताए ।
बृहत साँस्कृतिक कार्यक्रम हुने चर्चाले अहिले विदुर कोलनी मात्र नभई समग्र जिल्लाबासीमै उत्सुक र चासोको विषय बनेको छ । हालै सम्पन्न भएको दोश्रो म्हेन्दो माया म्युजिक अवार्ड २०७४ का विभिन्न बिधा बिजेता चर्चित ख्यातिप्राप्त म्हेन्दोमाया कलाकारहरु तथा अन्य गायक गायिका तथा कलाकारहरहरुबाट हुने भनिएको बेजोड प्रस्तुतीको चर्चाले झन थप माहोल तातिएको छ । म्हेन्दोमाया कलाकारहरु किर्ती तामाङ, मिना लामा, पुष्प वाईबा तामाङ, आशिक गोङ्बो तामाङ, लक्ष्मी स्याङतान, बिना घले, टेकराज घले, पप तथा आधुनिक गायक एवम स्वर सङग्राम बिजेता ध्रुव तामाङ, चर्चित मोडेलहरु एन्जिला वाईबा तामाङ, रुपा एस घले र मुन्न वाईबा घलेका साथै अन्य स्थानीय कलाकारहरुले कार्यक्रममा भरपुर मनोरञ्जन दिने भएका छन् ।
तामाङ अवाज, टिभी त्रिशुली, नुवाकोट एफ एम, रेडियो त्रिशुली र रेडियो जलपाले सोनाम ल्होछार बृहत साँस्कृतिक महोत्सवको मिडिया पार्टनरको भुमिका खेल्दै सहयोग गरेका छन् ।
तामाङ समुदायको महान राष्ट्रिय सांस्कृतिक पर्व २८५४ औं सोनाम ल्होछारको अवसरमा आयोजना गर्न लागिरहेको बृहत साँस्कृतिक कार्यक्रममा सहभागी हुनका लागि सम्पुर्ण नुवाकोटबासी दाजुभाइ तथा दिदिबहिनी, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा पदाधिकारी, समाजसेवि, बुद्धिजीवी सामाजिक अभियान्ता र पत्रकारलाई उपस्थितिको निम्ति आयोजकले अनुरोध गरेको छ ।
भाषाको ज्ञान नभएर निर्दोषहरु समेत अदालतमा सत्य तथ्य बयान दिन नसक्दा दोषी हुनु परेको नेपालको परिप्रेक्षमा नेपालमा पहिलो पटक अदालतमा मातृभाषामा बयान दिन पाउने व्यवस्था नुवाकोट तामाङ घेदुङ अध्यक्ष जयमान वाईबाको पहल र प्रयासले सफल भएको थियो ।