विविध

‘हरेक दिन एक नयाँ काम’ अभियान शुरु

काठमाडौँ, २३ माघ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले ‘हरेक दिन एक नयाँ काम’ अभियान शुरु गरेको छ । प्रभागले प्रहरीले गर्दै आएको दैनिक कामलाई निरन्तरता दिँदै प्रत्येक दिन एक नयाँ काम गर्ने अभियान चलाएको प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो । प्रहरीले बसपार्क वरपरको सरसफाइ, प्रभाग वरपर गमलामा पुष्परोपण, पैदलमार्ग र आकाशेपुलमा रहेका पसल हटाउने, प्रहरी सचेतनासम्बन्धी माइकिङ गर्नेलगायत काम गर्दै आएको छ ।
उहाँले बसपार्क क्षेत्रलाई पूर्ण शान्ति सुरक्षा प्रदान गर्न दैनिक एक एक नयाँ कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । माघ महिनाको शुरुआतदेखि सञ्चालन भएको उक्त अभियानलाई निरन्तरता दिइने प्रभागले जनाएको छ ।