विविध

शिवरात्रिमा सहज दर्शनका लागि ट्राफिक व्यवस्थापन

काठमाडौँ, २९ माघ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले शिवरात्रि पर्वलाई लक्षित गरेर सवारी व्यवस्थापन योजना निर्माण गरेको छ । महाशाखाले भोलि पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई सहज रुपमा दर्शन गरी फर्कने वातावरण निर्माण गर्नका लागि पशुपति क्षेत्र विकास कोष वरपरका क्षेत्रमा सवारी प्रवेशमा रोक लगाएको हो ।
महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले भक्तजनलाई सहज रुपमा दर्शन गरी फर्कने वातावरण निर्माण गर्न ट्राफिक व्यवस्थापन गरिएको बताउनुभयो । महाशाखाले चावहिलबाट मित्रपार्क हुँदै गौशालातर्फ, पुरानो बानेश्वरबाट बत्तीसपुतली हुँदै गौशालातर्फ, ज्ञानेश्वर मैतीदेवी मोडबाट रातोपुल हुँदै गौशालातर्फ, द्वारिका होटल पछाडिको शाखा मार्गबाट गौशाला वनकालीतर्फ, सिफल चौरबाट जयबागेश्वरीतर्फ रोक लगाएको छ ।
यस्तै लामापोखरी कुटुवहालबाट मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ, तिलगंगाबाट गौशालातर्फ, जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालवाहक सवारी साधनलाई गौरीघाटतर्फ, सिनामंगल पुलबाट करिडोरको मार्ग हँुदै होटल महाराजा निस्कने मार्ग र जोरपाटी बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चावहिलतर्फ रोक लगाएको छ ।
दर्शनका लागि आउने दर्शनार्थी, तीर्थयात्री र विदेशी पर्यटकका सवारी साधनलाई तिलगंगा क्षेत्रमा, पासवाला सुरक्षा निकाय तथा सरकारी सवारी साधनलाई महानगरीय ट्राफिक प्रभाग गौशाला, पासवाहक सवारी साधनलाई कोषको कार्यालय बिसौनीको व्यवस्था गरेको छ । यस्तै गोठाटार, जोरपाटी, मूलपानी, गोकर्ण, बौद्धतर्फबाट आउने तीर्थयात्रीको सवारी साधनलाई गुह्यश्वरीपारि बिसौनीको व्यवस्था मिलाइएको छ ।
पुरानो बसपार्क, माइतीघर, नयाँबानेश्वर, तीनकुने, सिनामंगल हुँदै तिलगंगासम्म पुग्ने सवारी साधन सोहीमार्ग हुँदै पुरानो बसपार्क फिर्ता हुनुपर्ने, पुरानो बसपार्क, जमल, लाजिम्पाट, नारायणगोपाल चोक, चावहिल, बौद्ध, जोरपाटी, साँखुसम्म पुग्ने र सोहीमार्ग पुरानो बसपार्क फिर्ता हुने व्यवस्था मिलाइएको छ । यसैगरी कालोपुल हुँदै कपन चल्ने सवारी साधन खानी विभाग, लाजिम्पाट हुँदै महाराजगञ्जको बाटो चलाउने व्यवस्था गरिएको छ ।
महाशाखाले सुन्धाराबाट मैतीदेवी, पुरानो बानेश्वर, चावहिल हुँदै बौद्धतर्फ चल्ने माइक्रोबस तथा टेम्पो महेन्द्र शालिक, जय नेपाल, नक्साल, भगवतीबहाल, सानोगौचरण, सिफल उकालो, लामपोखरी, चावहिल गणेशस्थान, चावहिल हुँदै जोरपाटी मार्ग हुँदै चलाउने व्यवस्था गरेको छ भने जोरपाटी बौद्धबाट सुन्धारा आउने माइक्रोबस तथा टेम्पो चावहिल नारायणगोपाल चोक, लाजिम्पाट, केशरमहल, जमल, घण्टाघर हुँदै सुन्धारा चलाउने व्यवस्था मिलाएको छ ।
जोरपाटी, बौद्ध, चावहिल हुँदै महाराजगञ्जतर्फ जाने मालवाहक सवारी साधन चुच्चेपाटी, भृकुटीचोक, गोपीकृष्ण हल हुँदै सुकेधारा, महाराजगञ्जतर्फ जानु पर्नेछ । कोटेश्वर, तीनकुने, गौशाला हुँदै बौद्ध वा सुकेधारातर्फ जाने मालवाहक सवारी साधन कोटेश्वर, सातदोबाटो, कलंकी, महाराजगञ्ज, गोपीकृष्ण हल, कपन, महाँकाल, चुच्चेपाटी हुँदै बौद्धतर्फ जानु पर्नेछ । गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधन जडीबुटी, पेप्सीकोला, गोठाटार पुल हुँदै बौद्ध जोरपाटीसम्म पुग्न सक्ने व्यवस्था गरेको छ ।

डोलेश्वरमा महाशिवरात्री पर्वका लागि साधुसन्तको ओइरो :  भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित केदारनाथको शिर भाग मानिने डोलेश्वर महादेव मन्दिरमा मनाइने महाशिवरात्रि पर्वको तयारी पूरा भएको छ । डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिले आज मन्दिर परिसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै महाशिवरात्रि पर्वलाई भव्य रुपमा मनाउन सबै तयारी पूरा भएको मूल आयोजक समितिका संयोजक एवं समितिका वरिष्ठ अध्यक्ष विदुरमानसिंह बस्नेतले बताउनुभयो । महाशिवरात्रि पर्वका लागि भारतबाट आजसम्ममा २५० नागा बाबा एवं साधुसन्त आइसकेका र साँझसम्म ५०० जना साधुसन्त आउने उहाँले जानकारी दिनुभयो ।
डोलेश्वर आएका नागा बाबा एवं साधुसन्तलाई समितिले नै खाने, बस्ने, धुनी बाल्न दाउराको व्यवस्था गरिएको समितिका वरिष्ठ उपाध्यक्ष किरण थापाले जानकारी दिनुभयो । महाशिवरात्रि पर्वमा डोलेश्वर आउने दर्शनार्थीका लागि बिहान ४ देखि राति १२ बजेसम्म मन्दिरको चारै वटा ढोका खुल्ला गरेर दर्शनको व्यवस्था गरिने जानकारी दिँदै उहाँले पञ्चस्नान गर्न चाहने भक्तजनले रु एक हजार १०० को रसिद काटेर दर्शन एवं पूजा गर्न र यस दिन चार प्रहर पूजामा सहभागी हुन चाहने भक्तजनले रु ११ हजार १११ को टिकट काटेर पूजामा सहभागी हुन पाउने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
प्रचारप्रसार समितिका संयोजक मोहन बल्लभले महाशिवरात्रिमा डोलेश्वर आएका नागा बाबा, साधुसन्तमध्येबाट महाशिवरात्रिको भोलिपल्टको बिदाइ कार्यक्रममा ‘क’ वर्गकालाई रु एक हजार १११, ‘ख’ वर्गकालाई रु ७७७ र ‘ग’ वर्गकालाई रु ५५५ नगदसहित एक–एक थान कम्बल र एक थान धोती दिएर बिदाइ गरिने बताउनुभयो । उक्त पर्वमा करिब रु १० लाख खर्च हुने अनुमान गरिएको र यसका लागि एक मूल समिति र सात वटा विभिन्न उपसमिति बनाइएको छ । -रासस