समाचार

कर्मचारी समायोजनमा कसैको सोर्सफोर्स चल्दैन : प्रमुख सल्लाहकार रिमाल

काठमाडा । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले कर्मचारी समायोजनमा कसैको सोर्सफोर्स नचल्ने बताएका छन् । उनले कुन कर्मचारीलाई कहाँ खटाउने भन्ने विषय सफ्टवेयर मार्फत निर्धारण हुने भन्दै कसैले कसैलाई चिनेको भरमा निर्णय नहुने प्रष्ट पार्नुभयो । हालसम्म ६० हजार कर्मचारी समायोजन प्रकृयामा संलग्न भइसकेको भन्दै अव यो नरोकिने पनि बताउनुभयो ।
नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) प्रदेश नं ३ संगठन कमिटीले संयुक्त ट्रेड यूनियन समन्वय केन्द ्र(जेटीयूसीसी) को नवनिर्वाचित कमिटीका पदाधिकारीहरुलाई सम्मानका लागि आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै रिमालले संघियतामा गइसकेको अवस्थामा सोही अनुरुप सवै संरचना पनि रुपान्तरण हुनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा बोल्दै रिमालले आगामी साउन देखि पूर्ण रुपमा लागु हुने सामाजिक सुरक्षा कार्यक्रमले श्रमिकको जीवनमा महत्वपूर्ण परिवर्तन आउने धारणा राख्नुभयो । उनले सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न सवै पक्ष एक हुन आग्रह पनि गर्नुभयो । सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका आधारमा नेपालको विश्वमञ्चमा बेग्लै पहिचान स्थापित हुने उहाको भनाई थियो ।
सो अवसरमा बोल्दै जिफन्ट अध्यक्ष समेत रहेका जेटीयूसीसीका अध्यक्ष बिनोद श्रेष्ठले जवसम्म मजदुरका यूनियनहरु नाङ्लो पसल जस्तै हुन्छन्, तवसम्म श्रम सम्वद्ध विषयमा धेरै उपलव्धी हासिल हुन नसक्ने ठहरका साथ गठन गरिएको जेटीयूसीसी मार्फत अपेक्षा अनुरुप उपलव्धी हासिल भएको बताउनुभयो । उनले जिफन्टले सवै यूनियनहरुलाई एकै थलोमा ल्याउन गरेको प्रयासले सार्थकता पाएको भन्दै यदि नेपालका ट्रेड यूनियनहरु एकै ठाउँमा नआएको भएमा हालको उपलव्धी हुँदैनथ्यो भन्ने धारणा राख्नुभयो । श्रेष्ठले श्रम ऐन, सामाजिक सुरक्षा ऐन लगायतको प्रभावकारी कार्यान्वयनका लागि ट्रेड यूनियनहरुको एकता र सहकार्य अझ बलियो रुपमा अगाडी बढाउनु आवश्यक रहेको धारणा राख्नुभएको थियो ।
सो अवसरमा बोल्दै जेटीयूसीसीका महासचिव पल्टन ठाकुरले संगठित र असंगठित दुवै क्षेत्रका श्रमिकलाई संगठित गर्न जिफन्टले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । यसैगरी जेटीयूसीसी महिला कमिटी संयोजक सुधा दहालले जेटीयूसीसी गठन हुनु पूर्व जिफन्ट र नेपाल ट्रड यूनियन काँग्रेसबीचको सहकार्यबाट प्राप्त उपलव्धीहरुको चर्चा गर्दै यूनियनहरुको सहकार्यले महत्वपूर्ण सफलता मिलेको धारणा राख्नुभयो ।
कार्यक्रममा बोल्दै जिफन्ट ३ नम्वर प्रदेश ईञ्चार्ज तथा जिफन्टका केन्द्रीय उपाध्यक्ष जितेन्द्र श्रेष्ठले श्रम ऐन र सामाजिक सुरक्षा ऐनको प्रभावकारी कार्यान्वयनमा जेटीयूसीसी मार्फत ठोस् काम हुनेमा आशा प्रकट गर्नु भएको थियो । उनले सन् २००० देखि नै नेपालका दुर्ई ठूला यूनियन जिफन्ट र नेपाल ट्रेड यूनियन काँग्रेसबीचको सहकार्यले जेटीयूसीसी निर्माणमा सफलता मिलेको र सो साझा मञ्च मार्फत धेरै महत्वपूर्ण काम भएको धारणा राख्नुभएको थियो ।
कार्यक्रममा जिफन्ट प्रदेश नं ३ संगठन कमिटी अध्यक्ष रामहरि नेपालले नेपालको ट्रेड यूनियन आन्दोलनका बारेमा संक्षिप्तमा चर्चा गर्दै उहाले जिफन्टको अवधारणा अनुरुप जेटीयूसीसीको स्थापना सम्भव भएको भन्दै यो नेपालको ट्रेड यूनियन आन्दोलनको महत्वपूर्ण पक्ष रहेको बताउनुभयो । उनले कानूनले सवैै श्रमिकलाई समान बनाएपनि व्यवहारमा त्यसको कार्यान्वयन चुनौतिपूर्ण रहेको धारणा राख्नुभएको थिया । कृषि क्षेत्रका श्रमिक, स्वास्थ्य स्वयंसेवी लगायतलाई सामाजिक सुरक्षा कार्यक्रममा कसरी जोड्ने भन्नेमा अझै पनि धेरै चुनौति रहेको उहाको भनाई थियो ।