काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्राकृतिक विपत्तिबाट जनधनको ठूलो क्षति व्यहोर्नुपरेको अवस्थामा पनि नेपालीहरू आफ्ना चाडपर्व, धर्म, संस्कृति र रीतिरिवाजलाई निरन्तरता दिनुपर्ने अवस्थामा रहेको बताएका छन्।
दसैँको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस वर्षको वर्षायाम नेपालीहरूका लागि सुखद नरहेको उल्लेख गरेका छन्। भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढी, विभिन्न जिल्लाका नदीतटीय क्षेत्रमा पुगेको क्षति तथा असोजमा परेको अविरल वर्षा र दसैँको मुखैमा आएको बूढीगण्डकी बाढीले ठूलो जनधनको क्षति पुर्याएको उनको भनाइ छ।
“विभिन्न आरोह-अवरोहहरू देख्दै, भोग्दै, सहँदै अनि सम्हालिँदै आएका हामी नेपालीहरू प्राकृतिक प्रकोपको दुःख र पीडाका बीचमा पनि आफ्ना चाडपर्व, धर्म, संस्कृति तथा रीतिरिवाज धान्नुपर्ने अवस्थामा उभिएका छौँ,” उनले सन्देशमा भनेका छन्।
प्रकृतिका नियम न्यायसंगत भए पनि ती भयानक हुन सक्ने उल्लेख गर्दै पूर्वराजा शाहले प्रकृतिमा कमजोरी वा करुणा नहुने धारणा व्यक्त गरेका छन्।
उनको सन्देशमा प्राकृतिक विपत्तिका कारण उत्पन्न दुःख र पीडाबीच नेपालीहरूले आफ्नो परम्परा र सांस्कृतिक पहिचानलाई निरन्तरता दिनुपरेको अवस्थालाई प्रमुखताका साथ उठाइएको छ।