समाचार

प्रस्तावित राजदूतको नाम अनुमोदित

काठमाडौँ । प्रतिनिधिसभा, संसदीय सुनुवाइ समितिले दुई प्रस्तावित राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिका सभापति लक्ष्मणलाल कर्णको अध्यक्षतामा आज यहाँ बसेको समितिको बैठकले प्रस्तावित राजदूत फ्रान्सका लागि दीपक अधिकारी र थाइल्याण्डका लागि गणेशप्रसाद ढकाललाई सर्वसम्मत रुपमा अनुमोदन गरेको हो । प्रस्तावित राजदूतद्वय अधिकारी र ढकाल परराष्ट्र मन्त्रालयका सहसचिव हुनुहुन्छ । बैठकमा प्रस्तावित राजदूतद्वयले ती देशमा राजदूत भएर गएपछि आफूले सम्पादन गर्ने आआफ्ना कार्ययोजना प्रस्तुत गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाल’ बनाउने सरकारको प्रमुख लक्ष्य हासिल गर्न सहयोग गरिने प्रतिबद्धता जनाउनुभएको थियोे ।

समितिका सदस्य सुरेन्द्रप्रसाद पाण्डे, जीतेन्द्रनारायण देव, पूर्णकुमारी सुवेदी, भीमसेनदास प्रधान, शिवकुमार मण्डल र पार्वत गुरुङले आर्थिक कूटनीतिमा ध्यान दिई नेपालमा थाइल्याण्ड र फ्रान्सको थप लगानी ल्याउनका लागि पहल गर्न प्रस्तावित राजदूतद्वयलाई सुझाव दिनुभएको थियो ।-रासस