समाचार

नेविसङ्घ नेता कार्यकर्ता घाइते

काठमाडौँ । संसद्ले चिकित्सा शिक्षा विधेयक जबर्जस्तीरूपमा पारित गरेको भन्दै त्यसको विरोधमा आज भएको प्रदर्शनमा महामन्त्री कपिलेश्वर यादवसहितका नेता कार्यकर्ता घाइते भएको नेपाल विद्यार्थी सङ्घले जनाएको छ । सङ्घका उपसभापति रामप्रसाद अधिकारीका अनुसार प्रदर्शनका क्रममा यादवसहित सुशील भट्ट, नीरञ्जन थापा, भीम महतलगायतका नेता कार्यकर्ता घाइते भएका छन् । अनशनरत डा गोविन्द केसीको मागलाई सम्बोधन नगरी चिकित्सा शिक्षा विधेयक पारित गरेको र काङ्ग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्रीद्वयका नाममा स्थापित अस्पताललाई समेत राजनीतिक पूर्वाग्रहका आधारमा स्वीकृति नदिएको भन्दै नेविसङ्घले आज काठमाडौँमा प्रदर्शन गरेको थियो । सो क्रममा २५ भन्दाबढी आफ्ना कार्यकर्तालाई पक्राउ गरेको भन्दै अधिकारीले उनीहरुको विनाशर्त रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो ।